रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड



भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षको अवधिमा जिल्लाबाट २४ हजार ५ सय ३५ जनाले राहदानीका लागि आवेदन दिएका छन् । 

राहदानी सिफारिस तथा वितरणबाट मात्रै कार्यालयले ९ करोड ४६ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार २०८२ साउन १ देखि २०८३ असार मसान्तसम्म प्राप्त आवेदनमध्ये जिल्ला प्रशासन कार्यालयबाट १७ हजार १ सय २३ र इलाका प्रशासन कार्यालय बुटवलबाट ७ हजार ४ सय १२ वटा आवेदन परेका हुन् । 

सो अवधिमा २२ हजार ३ सय ४७ वटा राहदानी प्राप्त भएकोमा २० हजार ९ सय ५० वटा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त १४ हजार ९ सय ३५ राहदानीमध्ये १४ हजार ६ सय ९४ वटा वितरण भएका छन् । बुटवलबाट प्राप्त ७ हजार ४ सय १२ मध्ये ६ हजार २ सय ५४ वटा वितरण गरिएको तथ्यांक छ । 

आवेदनको तुलनामा प्राप्त राहदानी कम हुनु र प्राप्त राहदानीको तुलनामा वितरण संख्या पनि केही कम हुनुका कारण प्रक्रियामा रहेका तथा वितरणका लागि बाँकी राहदानी रहेको देखिन्छ । यसले राहदानी सेवामा नागरिकको निरन्तर चाप रहेको संकेत गरेको सूचना अधिकारी पाध्याको भनाई छ ।

रुपन्देहीमा राहदानीसँगै नागरिकता र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह पनि ठूलो परिमाणमा भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा इलाका प्रशासन कार्यालय बुटवल, मझगवाँ र मानपकडीबाट गरी एक वर्षमा २५ हजार ८ सय ७३ जनाले वंशजका आधारमा नयाँ नागरिकता लिएका छन् । यसै अवधिमा २२ हजार २६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ । 

राष्ट्रिय परिचयपत्रतर्फ भने जिल्लामा १ लाख १ हजार ४ सय १ जनाको विवरण दर्ता गरिएको छ । पछिल्ला वर्षमा राज्यका विभिन्न सेवा र डिजिटल पहिचानसँग राष्ट्रिय परिचयपत्र जोडिँदै गएपछि यसको विवरण दर्ता पनि तीव्र भएको प्रशासनको तथ्यांकले देखाउँछ । 

स्थानीय प्रशासनमा आउने गुनासा तथा विवाद समाधानतर्फ पनि कार्यालयले उल्लेख्य प्रगति गरेको छ । मिटरब्याज सम्बन्धी २४७ निवेदनमध्ये १५७ वटा फछ्र्योट भएका छन् । वैदेशिक रोजगारीसम्बन्धी १७३ वटै उजुरी फछ्र्योट गरिएको छ । त्यसैगरी ‘हेलो सरकार’बाट प्राप्त १६५ तथा नागरिक स्तरबाट प्राप्त ३९१ वटै गुनासा फछ्र्योट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले जानकारी दिए । बजेट कार्यान्वयनतर्फ पनि कार्यालयले उच्च प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा चालुतर्फ ९३.५४ प्रतिशत र पुँजीगततर्फ ९८.८३ प्रतिशत बजेट खर्च भएको छ । 

विभिन्न प्रशासनिक सेवा, संस्था नवीकरण, दण्ड–जरिवाना तथा राहदानी शुल्क लगायतबाट कार्यालयले एक वर्षमा कुल ९ करोड ९६ लाख ६ हजार ४ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको छ । कुल राजस्वमध्ये राहदानी सेवाबाट मात्रै ९ करोड ४६ लाखभन्दा बढी उठ्नुले रुपन्देहीमा राहदानी सेवा प्रशासनको राजस्व संकलनको प्रमुख स्रोत बनेको देखाएको छ ।

समग्र तथ्यांकले रुपन्देहीमा नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीजस्ता नागरिक सेवाको माग उच्च रहेको देखाउँछ । विशेषगरी एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन पर्नुले वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको संकेत गर्छ । 

बढ्दो सेवाग्राही चापलाई ध्यानमा राख्दै प्रशासनिक सेवा थप सहज, छरितो र प्रविधिमैत्री बनाईएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको भनाई छ । 

प्रकाशित : 20 August, 2026 1:18 pm