काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले देशभरका उत्कृष्ट बीमा सल्लाहकार तथा अभिकर्ताहरूको सम्मानमा ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा क्लब योजनामा सफलता हासिल गरेका बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गरिएको हो।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज केसी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले देशका विभिन्न स्थानबाट कार्यक्रममा सहभागी भएका क्लब सदस्यलाई स्वागत गर्दै सानिमा रिलायन्स लाइफप्रति देखाएको विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गरे। उनले अभिकर्ताको मेहनत र योगदानकै कारण कम्पनीले निरन्तर प्रगति गर्न सफल भएको उल्लेख गरे।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकारहरू कम्पनीको मेरुदण्ड भएको बताए। उनले अभिकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई थप उत्साहित र प्रोत्साहित गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।
त्यसैगरी डेपुटी प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमको भूमिकाबारे चर्चा गर्दै सहकार्य र सामूहिक प्रयासबाट लक्ष्य हासिल गर्न सकिने बताए। उनले टिममा बसेर एकअर्कालाई सहयोग गर्दै अघि बढे सफलता हासिल गर्न सहज हुने धारणा राखे।
सानिमा रिलायन्स लाइफले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कसमस क्लबका विभिन्न योजना सञ्चालन गरेको थियो। व्यक्तिगत कोड तथा टिम व्यवसायमार्फत तोकिएको न्यूनतम बीमाशुल्कको लक्ष्य पूरा गर्ने अभिकर्तालाई क्लबको सदस्यता प्रदान गरिएको थियो।
कार्यक्रममा क्लब सदस्यता हासिल गर्न सफल सबै बीमा सल्लाहकारसँगै व्यक्तिगत कोड र टिम व्यवसायतर्फ देशभर उत्कृष्ट तीन स्थान हासिल गर्ने अभिकर्तालाई समेत सम्मान गरिएको थियो। सम्मानले अभिकर्तामा थप ऊर्जा र उत्साह थप्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट व्यवसाय गर्न प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन चर्चित कलाकारहरूको प्रस्तुतिसमेत राखिएको थियो। सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले आ–आफ्ना प्रस्तुति दिएका थिए। बीच–बीचमा प्रस्तुत गरिएको नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अवार्ड प्राप्त गर्दै आएको सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहज बनाउने, ग्राहक सम्पर्क प्रणाली सुदृढ गर्ने तथा बीमितसँग दीर्घकालीन विश्वास कायम गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको जनाएको छ। हाल देशभर १६९ वटा शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने १७ हजारभन्दा बढी अभिकर्ता कम्पनीमा सक्रिय रूपमा कार्यरत छन्।


Comment