स्वास्थ्य बीमा बोर्डको २९ अर्ब ८६ करोड भुक्तानी, १ करोड ७ लाखभन्दा बढी आबद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वास्थ्य बीमा बोर्डको २९ अर्ब ८६ करोड भुक्तानी, १ करोड ७ लाखभन्दा बढी आबद्ध



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा प्रदायक संस्थालाई २९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ। बोर्डको वार्षिक प्रतिवेदनअनुसार बीमा कार्यक्रममा आबद्ध सेवाप्रदायक संस्थालाई उक्त रकम भुक्तानी गरिएको हो।

कुल भुक्तानीमध्ये सरकारी अस्पतालले १७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, सामुदायिक अस्पताललाई १ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ र निजी अस्पताललाई ६ अर्ब १३ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको छ। यस अवधिमा सेवा प्रदायकको पेश्की फर्छ्यौटतर्फ ४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ।

आम्दानी ३६ अर्ब ७५ करोड

बोर्डले गत आर्थिक वर्षमा विभिन्न स्रोतबाट ३६ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ। यसमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको १ अर्ब ६८ करोड ८९ लाख रुपैयाँसमेत समावेश छ।

बोर्डको आम्दानीमा नेपाल सरकारबाट बीमा योगदानबापत प्राप्त २१ अर्ब १९ करोड ३१ लाख रुपैयाँ सबैभन्दा ठूलो हिस्सा रहेको छ। नागरिक औषधि उपचारलगायत विभिन्न कार्यक्रमका लागि सरकारले ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँ उपलब्ध गराएको छ।

यस्तै, पेश्की जिम्मेवारी आम्दानीबाट ४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ, बीमा प्रिमियमबाट ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ र बीमा कोषको आम्दानीबाट ४१ करोड १६ लाख रुपैयाँ प्राप्त भएको छ। छात्रवृत्ति करारबाट २४ लाख ४३ हजार रुपैयाँ तथा परीक्षा सञ्चालन र अन्य शीर्षकबाट १७ लाख ३ हजार रुपैयाँ आम्दानी भएको बोर्डले जनाएको छ।

१ करोड ७ लाखभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध

प्रतिवेदनअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म स्वास्थ्य बीमा कार्यक्रममा १ करोड ७ लाख ६५ हजार ७८६ जना आबद्ध भएका छन्। यो नेपालको कुल जनसंख्याको करिब ३६ प्रतिशत हो। तर, सक्रिय अर्थात् क्रियाशील बीमितको संख्या भने ५६ लाख ८७ हजार ५५२ जना रहेको छ। यो कुल जनसंख्याको करिब १९ प्रतिशत हो।

गत आर्थिक वर्षमा ४१ लाख ९३ हजार १४३ जनाले बीमा नवीकरण गरेका छन्। सोही अवधिमा स्वास्थ्य बीमा सेवा उपयोग गर्ने बीमितको संख्या ३१ लाख ३५ हजार ८०० जना रहेको बोर्डको तथ्यांक छ।

प्रकाशित : 9 August, 2026 12:33 pm