काठमाडाैं । सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध तथा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न ‘हिन्दु सम्राट नेपाल’ ले बिहीवार आह्वान गरेको बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण यहाँका मुख्य बजार क्षेत्र, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि ठप्प रहेका छन् । हिन्दु सम्राट नेपालले यसअघि नै जनकपुरधाम उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूलाई बजार बन्द गरी ऐक्यवद्धता जनाउन आग्रह गरेको थियो । सोही अनुरूप जनकपुरधामका प्रमुख व्यापारिक केन्द्रहरू जनक चोक, शिव चोक, कदम चोक, रामानन्द चोक र भानु चोक लगायतका क्षेत्रमा अधिकांश पसलहरू बन्द रहेका छन् । केही खुलेका पसलहरू समेत उक्त संगठनका युवाहरूले बजार गस्ती गरी बन्द गराएका थिए ।
आयोजक संस्थाले सुनसरी घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारसँग माग गरेको छ । साथै, सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न समेत दबाब दिइएको छ ।बन्दका क्रममा हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । जनकपुरधामका विभिन्न संवेदनशील स्थानहरूमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।


Comment