निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय दोहोरो अंकले विस्तार, कुल बीमाशुल्क ५० अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय दोहोरो अंकले विस्तार, कुल बीमाशुल्क ५० अर्ब नाघ्यो



काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय व्यवसाय विस्तार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.१२ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीहरूले २९ लाख ६६ हजार १९५ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने २८ लाख ६४ हजार ९४५ वटा बीमालेखबाट ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो।

प्राधिकरणको तथ्यांकले समीक्षा वर्षमा सबै १४ वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय वृद्धि भएको देखाएको छ। कुल बीमाशुल्क संकलनका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने व्यापार वृद्धिदरका हिसाबले एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ।

गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्सले ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै बजारमा अग्रस्थान कायम राखेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसाय १२.३८ प्रतिशतले बढेको हो।

दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४० प्रतिशतले बढी हो। त्यस्तै हिमालय एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै तेस्रो स्थान ओगटेको छ। कम्पनीको व्यवसाय एक वर्षमै ३१.०६ प्रतिशतले विस्तार भएको छ।

अन्य प्रमुख कम्पनीमध्ये आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ तथा ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

व्यापार वृद्धिदरका आधारमा भने एनएलजी इन्स्योरेन्स ३७.३० प्रतिशत वृद्धिसहित अग्रस्थानमा रहेको छ। त्यसपछि हिमालय एभरेष्ट इन्स्योरेन्सको ३१.०६ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको २०.२४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १७.१३ प्रतिशत, नेको इन्स्योरेन्सको ११.३७ प्रतिशत तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.१७ प्रतिशतले व्यवसाय बढेको छ।

यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ, सानिमा जीआईजी इन्स्योरेन्सले ३ अर्ब ८ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ तथा नेसनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

यी कम्पनीहरूको व्यवसाय पनि अघिल्लो वर्षको तुलनामा क्रमशः युनाइटेड अजोड इन्स्योरेन्सको ११.९५ प्रतिशत, सानिमा जीआईजी इन्स्योरेन्सको १४.०१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ८.२१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १४.८३ प्रतिशत र नेसनल इन्स्योरेन्सको २१.५८ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।

प्रकाशित : 29 July, 2026 2:35 pm