सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न



काठमाडौं, साउन २ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ।

स्वास्थ्य प्रवर्द्धन, बीमा सचेतना विस्तार तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता Temple Run को सहकार्यमा सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्यक्रममा ५०० भन्दा बढी धावक तथा सहभागीको उपस्थिति रहेको थियो।

दौड कम्पनीको केन्द्रीय कार्यालय नक्सालबाट सुरु भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर र उत्तरढोका हुँदै पुनः नक्सालस्थित केन्द्रीय कार्यालयमै पुगेर समापन भएको थियो।

कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष मनोहर दास मुलले रिबन काटेर गरेका थिए। दौड सम्पन्न भएपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिएको थियो।

प्रतियोगितामा सहभागी सबै धावकलाई ‘फिनिसर मेडल’ प्रदान गरिएको थियो। साथै, पुरुष र महिला दुवै विधाका प्रथम हुने विजेतालाई ९ लाख रुपैयाँसम्मको ‘SALICO Arogya Health Insurance’ सुविधासहित नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमसमेत सञ्चालन गरेको छ। गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशस्थित मानव सेवा आश्रममा भोजन वितरण, लुम्बिनी प्रदेशमा रक्तदान तथा मधेश प्रदेशस्थित ‘आमाको माया छात्रावास’मा भोजन र खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस्ता कार्यक्रमले स्वस्थ जीवनशैलीको प्रवर्द्धन, बीमा सम्बन्धी जनचेतना विस्तार तथा समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ। साथै, आगामी दिनमा पनि स्वास्थ्य, सामाजिक उत्तरदायित्व र जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

प्रकाशित : 19 July, 2026 4:57 pm