काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कम्पनीहरूले २६ लाख ५१ हजार १० वटा बीमा पोलिसी बिक्री गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले जेठ मसान्तसम्म ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख रुपैयाँ तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ९१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। एनएलजी इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन ३ अर्ब ७३ करोड १५ लाख रुपैयाँ पुगेको छ भने नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
यसैगरी, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ८० करोड २१ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ तथा सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
बीमाशुल्क संकलनका आधारमा नेपाल इन्स्योरेन्स १ अर्ब ९७ करोड ७५ लाख रुपैयाँसहित अगाडि रहेको छ। प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ तथा नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
निर्जीवन बीमा क्षेत्रमा पछिल्ला वर्षहरूमा प्रतिस्पर्धा बढ्दै गएको छ। कम्पनीहरूबीचको मर्जर तथा व्यवसाय विस्तारका कारण बीमाशुल्क संकलनको आकार पनि क्रमशः बढ्दै गएको देखिएको छ। जेठ मसान्तसम्मको तथ्यांकले शिखर इन्स्योरेन्सले बजार नेतृत्व कायम राख्दा सलिको र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ।






Comment