काठमाडौं । विश्वकप २०२६ को माहोललाई लक्षित गर्दै ‘बालबालिकाका निम्ति बालगीत’ अभियानअन्तर्गत निर्माण गरिएको बालगीत ‘भकुण्डो : द फुटबल’ सार्वजनिक गरिएको छ। किताब–चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाई स्कुलको सहकार्यमा तयार भएको उक्त गीत सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा आयोजित विशेष कार्यक्रममा विमोचन गरिएको हो।
फुटबलप्रेमी एक बालकको सपना, चाहना र खेलाडी बन्ने प्रयासलाई अभिनय, नृत्य र कलात्मक प्रस्तुतीमार्फत भिडियोमा जीवन्त रूपमा उतारिएको गीतले बालबालिकामा खेलप्रतिको आकर्षण र प्रेरणा जगाउने अपेक्षा गरिएको छ। बालअधिकारकर्मी तथा सिविन नेपालकी पूर्व कार्यकारी निर्देशक सुम्निमा तुलाधरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखक तथा समालोचक झलक सुवेदी, स्वस्तिश्री गुरुकुलकी प्रबन्ध निर्देशक मिना महर्जन, त्रियोग हाई स्कुलका कार्यकारी निर्देशक अजित लामा, गीतकार रामबाबु सुवेदी, संगीतकार टेकेन्द्र नेपाली, भिडियो निर्देशक आचार्य गोपाल, कोरियोग्राफर साहारा कोइराला, सहायक निर्देशक सन्जु नेपाली ‘टाइग्रिस’ तथा मुख्य बालकलाकार साक्षत नेपालसहित बालबालिकाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुम्निमा तुलाधरले गीतले बालबालिकामा मित्रता, सहकार्य र खेलप्रेमको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
लेखक झलक सुवेदीले फुटबलप्रतिको आकर्षणसँगै साहित्यप्रेम पनि बढाउन गीतले सहयोग पुग्ने धारणा राखे। त्रियोग हाई स्कुलका कार्यकारी निर्देशक अजित लामाले बालगीत परियोजनाका प्रमुख आधार गीतकार रामबाबु सुवेदी रहेको उल्लेख गर्दै यस्ता सिर्जनात्मक अभियानले निरन्तरता पाउनुपर्ने बताए।
स्वस्तिश्री गुरुकुलकी प्रिन्सिपल नेहा केसीले बालबालिकालाई फुटबलप्रति प्रेरित गर्न गीत उपयोगी रहेको बताइन्। संगीतकार टेकेन्द्र नेपालीले विश्वकपको माहोलसँग मेल खाने भएकाले गीत समयसापेक्ष रहेको बताए भने निर्देशक आचार्य गोपालले भिडियोमार्फत नेपाली बालबालिकामा विश्वकप खेल्ने सपना जागृत होस् र भविष्यमा नेपाली खेलाडी पनि विश्वकपमा पुग्न सकून् भन्ने उद्देश्य राखिएको बताए। ‘भकुण्डो : द फुटबल’ शीर्षकको बालगीत अंग्रेजी सबटाइटलसहित ‘रामबाबु सुवेदी अफिसियल (Rambabu Subedi Official)’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले नेपालसहित विश्वभरका बालबालिका र फुटबलप्रेमी दर्शकमाझ सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।






Comment