नेपाल–भारतबीच रियल टाइम क्रसबोर्डर रेमिट्यान्स सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल–भारतबीच रियल टाइम क्रसबोर्डर रेमिट्यान्स सेवा सुरु



काठमाडौं । भारतको NPCI International Payments Limited र नेपालको Nepal Clearing House Limited बीचको सहकार्यमा नेपाल–भारतबीच रियल टाइम क्रसबोर्डर रेमिट्यान्स सेवा सुरु भएको छ।

भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (NPI) लाई एकीकृत गर्दै सुरु गरिएको यो सेवामार्फत अब दुवै देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम स्थानान्तरण गर्न सकिनेछ। सेवाले भारतमा रहेका नेपाली तथा भारतीय नागरिक र नेपालमा रहेका भारतीय प्रयोगकर्तालाई व्यक्ति–व्यक्तिबीच (P2P) सहज रूपमा फण्ड ट्रान्सफर गर्न सक्ने सुविधा प्रदान गर्नेछ।

हाल केही बैंकमार्फत उपलब्ध रहेको उक्त सेवा क्रमशः अन्य बैंक तथा वित्तीय संस्थामा विस्तार गरिने जनाइएको छ। UPI–NPI एकीकरणलाई वित्तीय समावेशीकरण, डिजिटल भुक्तानीको विस्तार तथा नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

NIPL का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला ले एनसीएचएलसँगको सहकार्यमार्फत नेपाल–भारतबीच रियल टाइम रेमिट्यान्स सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताए। उनले नवीन प्रविधिको प्रयोगमार्फत सुरक्षित, सहज र किफायती रेमिट्यान्स प्रणाली विकास गर्दै वित्तीय समावेशीतालाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

त्यस्तै, NCHL का प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले दुवै देशबीच रियल टाइम क्रसबोर्डर फण्ड ट्रान्सफर सेवा सफलतापूर्वक सञ्चालनमा आएको बताउँदै डिजिटल भुक्तानी सेवाको पहुँच अझ विस्तार गर्न सहकार्य जारी रहने बताए।

नयाँ सेवामार्फत प्रयोगकर्ताले मोबाइल नम्बर, भर्चुअल पेमेन्ट एड्रेस (VPA) वा UPI ID प्रयोग गरी सहज रूपमा रकम पठाउन सक्नेछन्। यसले बैंक खाताको संवेदनशील विवरण साझा गर्नुपर्ने आवश्यकता हटाउँदै सुरक्षित तथा सुविधाजनक कारोबार सुनिश्चित गर्ने विश्वास गरिएको छ।

यस सहकार्यले नेपाल–भारतबीचको आर्थिक करिडोरलाई थप बलियो बनाउनुका साथै डिजिटल भुक्तानी प्रणालीको विकासमा नयाँ अध्याय सुरु गरेको सम्बद्ध पक्षहरूको भनाइ छ। साथै, रेमिट्यान्समा निर्भर लाखौं परिवारलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 9 June, 2026 2:42 pm