आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग



काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ।

फाइनान्सले धुलिखेल नगरपालिका १० मा सञ्चालित समाजको सेवा गृहमा आश्रित असहाय वृद्धवृद्धाहरूका लागि चप्पल, साबुन, स्याम्पु, फिनेल, कुचो, झाडुलगायत दैनिक प्रयोगमा आउने सरसफाइ सामग्री प्रदान गरेको हो।

सामग्री हस्तान्तरण कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा आइसीएफसी फाइनान्सका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख सन्जोक गुरुङ, बनेपा शाखा प्रमुख निर्मल त्रिपाठी तथा कर्मचारीहरू नफिसा ताम्राकार र निर्माता रायमाझीलगायतको उपस्थिति रहेको थियो।

आइसीएफसी फाइनान्सले हाल देशभर २१ शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको जनाएको छ।

फाइनान्सले प्रदान गरेको सरसफाइ सामग्रीबाट धुलिखेल सेवा गृहमा आश्रित ५५ जना असहाय वृद्धवृद्धाहरूको स्वास्थ्य तथा सरसफाइ व्यवस्थापनमा सकारात्मक सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित : 9 June, 2026 2:15 pm