अध्यादेशले सहकारी संघ–संस्थालाई कमजोर बनाउछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अध्यादेशले सहकारी संघ–संस्थालाई कमजोर बनाउछ



काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवर्द्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस तालिम’ सम्पन्न भएको छ। भक्तपुरस्थित क्लब बागमतीमा आयोजित तालिममा सहकारीहरूको नियामक प्रणाली कोपोमिसको व्यावहारिक प्रयोग तथा डिजिटल प्रणालीसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

तालिममा कोपोमिस प्रणालीमा सूचना तथा तथ्याङ्क समयमै अद्यावधिक नगर्ने सहकारीहरूले करचुक्ता प्रमाणपत्र तथा दृष्टिबन्धक रोक्का सुविधा प्राप्त गर्न नसक्ने विषयलाई विशेष रूपमा उठाइएको थियो।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष जगनाथ प्रजापतिले तालिमबाट प्राप्त प्राविधिक ज्ञानलाई दैनिक कार्यसम्पादनमा अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरे। हालै जारी भएको अध्यादेशका कारण सहकारी क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उनले उक्त अध्यादेशले सहकारी संघहरूलाई कमजोर बनाउने र त्यसको असर समग्र सहकारी अभियानमा पर्ने बताए।

संघकी कोषाध्यक्ष कृष्णश्वरी मचामसीले वर्तमान परिस्थितिमा सहकारी संस्थाहरू कानुनी तथा प्राविधिक दुवै पक्षमा सचेत हुनुपर्ने आवश्यकता औँल्याइन्। संघले सहकारीहरूलाई नीति तथा नियमसम्बन्धी जानकारी दिँदै आएको र यस तालिमले कोपोमिस प्रणालीबारे थप बुझ्न सहयोग पुगेको उनको भनाइ थियो।

भक्तपुर बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी क्षेत्रमा प्रविधिको महत्व बढ्दै गएको बताउँदै संघले कोपोमिसलगायत विभिन्न प्राविधिक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले हालै जारी अध्यादेशका कतिपय प्रावधानले सहकारी संस्थाहरूलाई कमजोर बनाउने सम्भावना रहेको उल्लेख गर्दै कर्मचारीहरूलाई कानुनी व्यवस्थाबारे पूर्ण जानकारी राख्न आग्रह गरे।

तालिमका प्रशिक्षक सहकारी विभागका ई. प्रेम प्रसाद थारुले कोपोमिसजस्ता प्राविधिक प्रणालीहरूमा दक्षता हासिल गर्न निरन्तर अभ्यास आवश्यक रहेको बताए। नियमित प्रयोग र अभ्यासबाट प्रणाली सहज रूपमा सिक्न सकिने उनको भनाइ थियो।

समापन सत्रमा उपसमितिका सदस्य योगेन्द्र बहादुर खर्बुजाले व्यस्त समयका बाबजुद तालिममा सहभागी भई सिकाइप्रति उत्साह देखाएकोमा सहभागीहरूलाई धन्यवाद दिए। उपसमितिका सदस्य अनिलकुमार सुवालले सञ्चालन गरेको तालिममा संघमा आबद्ध विभिन्न सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारी गरी ४३ जनाको सहभागिता रहेको थियो।

प्रकाशित : 8 June, 2026 12:18 pm