मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’



काठमाडौं । नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको “एकै छानामुनि समग्र उपचार सेवा” को अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ अवार्ड कार्यक्रम समापनमा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान स्थापनाको घोषणा गरेका थिए ।

करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने यो परियोजना करिब ३ वर्षभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको अस्पतालका निर्देशक मेघा चौधरीले बताए ।

क्यान्सर रोगको समग्र निदान, उपचार तथा अनुसन्धान एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित संस्थान स्थापना गर्न लागिएको निर्देशक चौधरीको भनाइ छ । ‘विश्वस्तरका दिशानिर्देशअनुसार उन्नत प्रविधिको प्रयोग गर्दै यस संस्थानमा विश्वसनीय निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी तथा उपशामक सेवा ९प्यालियटिभ केयर० उपलब्ध गराइनेछ,’ निर्देशक चौधरीले भने ।

उनका अनुसार संस्थानबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका क्यान्सर बिरामीहरूका लागि मेडिकल, सर्जिकल, रेडियसन, हेमाटोलोजी तथा जेरियाट्रिक सेवाहरू, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा प्रदान गरिने छ । संस्थानमा अनुसन्धानात्मक र शैक्षिक गतिविधि समेत सञ्चालन गरिने निर्देशक चौधरीले जानकारी दिए ।

जस अन्तर्गत क्यान्सर मनोविज्ञान, जेनोमिक्स लगायत अन्य विशिष्टीकृत अनुसन्धान कार्य अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शिक्षण संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

नर्भिकले आगामी दिनमा क्यान्सर उपचारमा विश्वव्यापी रूपमै भैरहेको नवीनतम प्रविधिको विकास र प्रयोगलाई नेपालमा समेत परिचित गराउन अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रहरूसँग परस्पर सहकार्य गर्ने जनाइएको छ । संस्थान मार्फत चिकित्सक तथा वैज्ञानिकबीच प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदान गरिने निर्देशक चौधरीले बताएका छन् ।

‘नेपालमा एकीकृत र विस्तारित क्यान्सर उपचारको विश्वसनीय थलोको अभावका कारण उल्लेखनीय संख्यामा बिरामीहरू विदेश जान बाध्य छन् । यसबाट वर्षेनी अरबौं रुपैयाँ विदेशिने गरेको छ ।’ निर्देशक चौधरीले भने, ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको स्थापना पश्चात् यो निर्भरता घट्ने र स्वदेशमै विश्वस्तरीय क्यान्सर उपचार सेवा सहज हुने हाम्रो अपेक्षा छ ।’

प्रकाशित : 15 May, 2026 12:51 pm