नेपालभर सुजुकी ई–भिटाराको डेलिभरी सुरु, मूल्य ४९ लाख ९९ हजार रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नेपालभर सुजुकी ई–भिटाराको डेलिभरी सुरु, मूल्य ४९ लाख ९९ हजार रुपैयाँ



काठमाडौं । सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई–भिटाराको डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ ।कम्पनीका अनुसार यो नेपाली बजारमा सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारी हो ।

कम्पनीले सुजुकी ई–भिटारालाई विश्वसनीय जापानी इन्जिनियरिङ, अत्याधुनिक ईभी प्रविधि, उच्च सुरक्षा सुविधा र दैनिक प्रयोगका लागि उपयुक्त विशेषतासहित बजारमा ल्याएको जनाएको छ । सार्वजनिक भएयता ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीको दाबी छ ।

सीजी मोटोकर्पले ई–भिटाराको प्रारम्भिक मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार यो मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुनेछ ।

नेपालभर रहेका २५ आधिकारिक बिक्री केन्द्र र ४० सर्भिस सेन्टरमार्फत गाडीको बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । प्रशिक्षित प्राविधिक जनशक्ति, स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता तथा सुधारिएको ईभी सेवा क्षमताले ग्राहकलाई सहज र भरपर्दो स्वामित्व अनुभव दिने कम्पनीको विश्वास छ ।

दुई ब्याट्री विकल्प, ५०० किलोमिटरभन्दा बढी रेन्ज

सुजुकी ई–भिटारा ४९ kWh र ६१ kWh ब्याट्री विकल्पमा उपलब्ध छ । यी ब्याट्रीले क्रमशः १०८ kW र १२८ kW सम्मको पावर आउटपुट प्रदान गर्ने कम्पनीले जनाएको छ । गाडीमा इको, नर्मल र स्पोर्ट्स गरी तीनवटा ड्राइभिङ मोड दिइएको छ । साथै हिउँयुक्त सडकका लागि स्नो टेरेन मोड समेत उपलब्ध छ । कम्पनीका अनुसार एडाप्टिभ ग्रिल सटर र रिजेनेरेटिभ ब्रेकिङ प्रणालीका कारण यसले ५०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्छ ।

आधुनिक डिजाइन र प्रिमियम इन्टेरियर

ई–भिटारामा १८ इन्च एरोडाइनामिक अलोय ह्विल, एलईडी प्रोजेक्टर हेडल्याम्प र रूफ–एन्ड स्पोइलर जस्ता फिचर समावेश छन् । इन्टेरियरतर्फ डिजिटल ककपिट, ट्विन–डेक फ्लोटिङ कन्सोल, फिक्स्ड ग्लास सनरुफ, मल्टि–कलर एम्बियन्ट लाइटिङ र १०.१ इन्चको डिजिटल डिस्प्ले उपलब्ध छ । साथै ‘इन्फिनिटी बाइ हार्मन’ साउन्ड सिस्टम र वायरलेस कनेक्टिभिटी सुविधा पनि राखिएको छ ।

यात्रुलाई आरामदायी अनुभव दिन भेन्टिलेटेड फ्रन्ट सिट, १०–वे पावर एडजस्टेबल ड्राइभर सिट तथा पछाडिको सिटमा ४०ः२०ः४० स्प्लिट कन्फिगरेसन उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सुरक्षा सुविधामा विशेष जोड

ई–भिटारामा लेभल–२ ADAS, ७ एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, ई–कल सुविधा तथा टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुरक्षा फिचर समावेश गरिएको छ ।

कम्पनीका अनुसार नयाँ HEARTECT-e प्लेटफर्ममा आधारित यो गाडी ५० प्रतिशतभन्दा बढी हाई–टेन्साइल स्टिल प्रयोग गरेर निर्माण गरिएको छ, जसले मजबुती र ब्याट्री सुरक्षालाई थप सुदृढ बनाएको छ ।

सीजी मोटोकर्पले सन् २०३० सम्म थप ६ नयाँ ईभी मोडल सार्वजनिक गर्ने योजना समेत रहेको जनाएको छ ।

प्रकाशित : 14 May, 2026 2:35 pm