काठमाडौं। आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित Techspire College मा “बागमती ओरिएन्टेसन सत्र” सम्पन्न गरेको छ। इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई लक्षित उक्त कार्यक्रममा दर्ता भएका १५ टिममध्ये १२ टिमको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम दिउँसो १:३० बजे सुरु भएको थियो। सहभागी उद्यमीहरूले आफ्ना व्यवसायिक अपेक्षा प्रस्तुत गर्दै सशक्त मेन्टरशिप, लगानी सहयोग तथा नीतिगत तहसम्म पहुँच सुनिश्चित गर्ने वातावरण आवश्यक रहेको बताएका थिए।
सत्रमा आईसीटी फाउन्डेसन नेपालकी सञ्चार अधिकारी कृष्ण पौडेलले संस्थासम्बन्धी प्रस्तुति दिँदै स्वागत मन्तव्य व्यक्त गरिन् भने कार्यक्रम संयोजक रचना खरेलले व्यवसाय इन्क्युबेसन सेवाको उद्देश्य र कार्ययोजनाबारे जानकारी दिइन्।
कार्यक्रममा एग्रीपोर्टल, बिल्डाकार इन्नोभेसन्स, केयरगिभर म्यानेजमेन्ट सिस्टम, म्याच २४ ओर्बिटल्स, एमएस डिजिटल अटो सोलुसन प्रा. लि., नेपट्र्याक, नेक्स्ट कोर सिस्टम, रिटेल साथी, सम्पर्क डिजिटल लोयल्टी, सतकर्म टेक सोलुसन्स प्रा.लि., द भिजनारिज नेपाल र भेन्डिङ किङ प्रा.लि. लगायतका स्टार्टअप टोलीहरूको सहभागिता रहेको थियो। सहभागी टोलीहरूले आफ्नो परिचय दिँदै कम्पनी तथा स्टार्टअप आइडियाबारे २–३ मिनेटको प्रस्तुति दिएका थिए।
अन्तरक्रियात्मक सत्रमा उद्यमी भुषण गिरीले व्यवसायको कानुनी र वित्तीय पक्ष सुरुदेखि नै व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै परिपूर्ण उत्पादनको प्रतीक्षा नगरी प्रारम्भिक चरणमै काम सुरु गर्न सुझाव दिए। उनले सह–संस्थापकबीच लक्ष्य र जिम्मेवारी स्पष्ट हुनुपर्ने तथा ओकेआर अवधारणा अपनाउनुपर्ने धारणा राखे।
त्यसैगरी, रेशम भण्डारीले “आइडियालाई होइन, समाधानलाई प्रेम गर्नुपर्छ” भन्दै व्यवसायिक सोचलाई व्यवहारिकता र स्पष्टतासँग जोड्नुपर्ने बताए।
कार्यक्रममा Industrial Enterprise Development Institute का इन्जिनियर उमेश गुप्ताले ७५ आवेदनमध्ये ४२ संस्था छनोट भएको र तीमध्ये आईसीटी फाउन्डेसन नेपाल पनि एक रहेको जानकारी दिए। उनले नेपाललाई आईटी इन्जिनियरहरूको देशका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए।
टेकस्पायर कलेजका लक्ष्मण पोखरेलले कलेजले विगतदेखि नै यस्ता इन्क्युबेसन कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै छनोट भएका टोलीहरूलाई शुभकामना दिएका थिए।
कार्यक्रममा प्रश्नोत्तर तथा खुला छलफलसमेत गरिएको थियो र सत्र अपराह्न ४ बजे सम्पन्न भएको थियो। आईसीटी फाउन्डेसन नेपालले यस्ता ओरिएन्टेसन तथा इन्क्युबेसन कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई मेन्टरशिप, लगानी तयारी, व्यवसायिक विकास र नेटवर्किङका अवसर प्रदान गर्दै आएको छ।






Comment