काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ले सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधि अपरिहार्य भइसकेको बताएका छन्।
नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा जारी सन्देशमा उनले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनेको उल्लेख गर्दै डिजिटल युगमा सुशासन, सेवा प्रवाह र आर्थिक विकासका लागि यसको भूमिका महत्वपूर्ण रहेको बताए।
सरकार डिजिटल नेपाल निर्माणतर्फ अघि बढिरहेको बताउँदै उनले सार्वजनिक सेवा प्रणालीलाई नागरिकमैत्री बनाउने प्रयास भइरहेको जानकारी दिए। यसका लागि दीर्घकालीन सूचना प्रविधि रणनीति र डिजिटल पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
उनले नागरिक एपमार्फत सरकारी सेवा एकीकृत रूपमा उपलब्ध गराउने काम विस्तार भइरहेको पनि बताए। साथै, नेपाललाई सूचना प्रविधि, डेटा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा क्षेत्रीय केन्द्र बनाउने लक्ष्यसहित नीतिगत सुधार तीव्र बनाइएको उल्लेख गरे।
देशभर इन्टरनेट विस्तार, डेटा सेन्टर सुदृढीकरण, डिजिटल साक्षरता वृद्धि र दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन घटाउने सरकारको योजना रहेको उनले बताए।
आईटी क्षेत्रलाई रोजगारी, स्टार्टअप र आर्थिक वृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले डिजिटल रूपान्तरणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।






Comment