एक वर्षमा नाइमा सक्रियः नीति, तालिम र सहकार्यमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक वर्षमा नाइमा सक्रियः नीति, तालिम र सहकार्यमा जोड



काठमाडौ । ‘सबैका लागि गतिशीलता’को उद्देश्यसहित स्थापना भएको नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको छ। रितूसिंह बैद्य को नेतृत्वमा एक वर्षअघि गठन भएको यस संस्थामा देशका प्रमुख सवारीसाधन आयातकर्ता तथा उत्पादकहरू आबद्ध रहेका छन्।

एक वर्षको अवधिमा नाइमाले सचिवालय स्थापना गरी संस्थागत संरचनालाई व्यवस्थित बनाएको छ। साथै विभिन्न समितिहरू गठन गरी प्राथमिकताका क्षेत्रहरूमा कार्य अघि बढाइएको जनाएको छ।

नीति संवाद र पैरवीमार्फत नाइमाले नेपाल सरकारसँग सहकार्य गर्दै अटोमोबाइल तथा गतिशीलता क्षेत्रका प्रमुख विषयहरू उठाएको छ। यसले निजी क्षेत्रका व्यवसायका लागि सहज र सक्षम वातावरण निर्माण गर्न पहल गरेको जनाएको छ।

क्षमता अभिवृद्धिको क्षेत्रमा नाइमाले प्राविधिक तालिम तथा शैक्षिक संस्थाहरूसँगको सहकार्यमार्फत विद्यार्थी, प्राविधिक जनशक्ति तथा भावी दक्ष जनशक्ति विकासमा योगदान पुर्‍याएको छ।

आपतकालीन परिस्थितिमा पनि नाइमाले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सहयोग प्रदान गरेको उल्लेख गरिएको छ, जसले संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काएको छ।

त्यसैगरी, नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गर्दै नेपालको गतिशीलता क्षेत्रलाई समन्वित, सुरक्षित, दिगो र व्यवस्थित बनाउने दिशामा काम गरिरहेको जनाएको छ।

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’, ‘मोबिलिटी संवाद’, नीति बहस, प्राविधिक तालिम तथा सहकार्यका विभिन्न पहलहरूले संस्थालाई जिम्मेवार, विश्वसनीय र एकीकृत आवाजका रूपमा स्थापित गर्न सहयोग पुगेको नाइमाले जनाएको छ।

आगामी दिनमा पनि सहकार्य, संवाद र साझा प्रतिबद्धतामार्फत नेपालको अटोमोबाइल तथा गतिशीलता क्षेत्रलाई थप सुदृढ, व्यवस्थित र भविष्यउन्मुख बनाउने प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित : 23 April, 2026 3:21 pm