काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले गुगल र मेराेजब लिमिटेडको सहकार्यमा ‘गुगल करियर प्रमाणपत्र छात्रवृत्ति कार्यक्रम २०२६’ घोषणा गरेको छ। सूचना प्रविधि क्षेत्रमा सीप अभिवृद्धि गर्न इच्छुक नेपालीहरूलाई लक्षित गर्दै ५०० पूर्ण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ।
कार्यक्रममा सहभागी हुन पूर्वअनुभव आवश्यक नपर्ने जनाइएको छ। यो पहल अन्तर्गत सहभागीहरूले कोर्सेरा मार्फत गुगलद्वारा डिजाइन गरिएका व्यावसायिक तालिमहरूमा पहुँच पाउनेछन्। कार्यक्रमको स्थानीय समन्वय आईसीटी फाउन्डेसन नेपाल र मेरोजब लिमिटेडले गर्नेछन्।
आयोजकका अनुसार कार्यक्रमले लचिलो, मार्गनिर्देशित तथा करियरमुखी सिकाइ अवसर प्रदान गर्नेछ। विद्यार्थी, हालै स्नातक गरेका युवा, कार्यरत पेशेवर, महिला, विपन्न तथा पछाडि परेका समुदायका व्यक्तिहरू र करियर परिवर्तन गर्न चाहनेहरूलाई विशेष रूपमा लक्षित गरिएको छ।
उपलब्ध पाठ्यक्रमहरूमा साइबर सुरक्षा, डाटा एनालिटिक्स, डिजिटल मार्केटिङ र ई–कमर्स, आईटी सपोर्ट, परियोजना व्यवस्थापन, यूएक्स डिजाइन, पाइथनमार्फत आईटी अटोमेसन, एडभान्स्ड डाटा एनालिटिक्स, बिजनेस इन्टेलिजेन्स र एआईसम्बन्धी कोर्सहरू समावेश छन्। प्रत्येक कोर्स ३ देखि ६ महिनाभित्र पूरा गर्नुपर्नेछ।
सिक्नेहरूले एक वा एकभन्दा बढी पाठ्यक्रम छनोट गर्न सक्नेछन्, तर निरन्तर संलग्नता आवश्यक रहनेछ। ६० दिनभन्दा बढी निष्क्रिय रहने सहभागीको छात्रवृत्ति अर्को उम्मेदवारलाई दिन सकिनेछ। कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न मासिक प्रगति अनुगमन गरिनेछ र कम्तीमा ७० प्रतिशत पाठ्यक्रम पूरा गर्नुपर्ने अपेक्षा राखिएको छ।






Comment