काठमाडौं । काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा र मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ। नाइमाको समन्वयमा आयोजित उक्त तालिम टोयोटाका नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा। लि। को प्राविधिक सहयोगमा केन्द्रीय कार्यालयमा सञ्चालन गरिएको हो।
तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौं सेमेस्टरका विद्यार्थीहरू र ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागी थिए। उनीहरूलाई हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक ज्ञान र प्रयोगात्मक सीप प्रदान गरिएको थियो।
सहभागीहरूले यसअघि लक्ष्मी हुन्डाईमा आयोजित विद्युतिय सवारीसाधनसम्बन्धी तीन दिने तालिममा पनि भाग लिएका थिए। यसका साथै नाइमा मोबिलिटी संवाद कार्यक्रममा सहभागी भई नीतिगत र प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। यसरी विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञान विस्तार गर्दै उनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले यस्ता तालिमले विद्यार्थीहरूको सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने तयारी भइरहेको बताए। उनले नेपालको भौगोलिक अवस्थाका कारण यस्ता सवारीसाधनको महत्व बढ्दै गएको पनि उल्लेख गरे।
बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले प्राविधिक शिक्षा र अटो उद्योगबीच सहकार्य आवश्यक रहेको बताए। उनले हालैको विद्युतिय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सहयोग पुगेको पनि बताए।
समापन कार्यक्रममा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमले पेशागत विकास र नवप्रवर्तनमा टेवा पुर्याउने बताए। उनले हाइब्रिड प्रविधिमा दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको पनि जोड दिए।
तालिममा हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूले दिएका थिए भने विद्युतिय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका विशेषज्ञहरूले सञ्चालन गरेका थिए। यसबाट सहभागीहरूले दुवै प्रविधिबारे आधारभूत र प्रयोगात्मक ज्ञान प्राप्त गरेका छन्।






Comment