
पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिकोत्सव मनाएको छ । संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा आयोजित वार्षिकोत्सवको समापन समारोहमा विभिन्न विधामा सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
संस्थाले साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, समिति तथा उपसमितिको संयुक्त बैठक, सरसफाई, वृद्धाश्रमलाई सहयोग, महिला सदस्यकेन्द्रित उत्प्रेरणा कार्यक्रम, फुटसल र सदस्य उत्प्रेरणात्मक कार्यक्रम गरेको थियो ।
संस्थाले आज हरेक वर्ष वार्षिकोत्सव तथा राष्ट्रिय सहकारी दिवसका दिनमा आयोजना गर्ने रक्तदान कार्यक्रममा नियमित रुपमा पाँच पटक र १० पटक रक्तदान गर्ने सदस्यहरुलाई क्रमशः ५ ग्राम र १० ग्रामको चाँदीको सिक्का सहित विशेष सम्मान गरे छ । रगत अभावलाई केही मात्रामा भएपनि पुरा गर्ने उदेश्यका साथ संस्थाले हरेक वर्ष रक्तदान गर्ने गरेको र मानवीय कार्यमा सहभागी भई नियमित रक्तदान गर्ने सदस्यहरुलाई हौसला प्रदान गर्न संस्थाले सम्मान गर्दै आएको संस्थाकी व्यवस्थापक राधा कडरियाले बताइन् । त्यसैगरी संस्थाले आयोजना गरेको फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विजेता टिमहरुलाई मेडल र ट्रफी प्रदान गरिएको थियो । संस्थाले ७५ बर्षमा माथिका जेष्ठ सदस्यलाई विशेष उपहार सहित स्थापना दिवसमा सम्मान गरेको छ भने उत्कृष्ट कर्मचारी तर्फ मनोहरा मैनाली सम्मानित भएकी छिन् ।
संस्थाका अध्यक्ष पाठकले २०६४ साल चैत्र २० गते संस्थाले दर्ताको प्रमाण पत्र पाएको र सोही दिनदेखि संस्थाले विभिन्न गतिविधिको आयोजना गरी स्थापना दिवस मनाउने गरेको बताए । सहकारी अभियानको औपचारिक सुरुवात भएको दिनमा संस्थाको प्रमाण पत्र लिएकाले त्यसदिन पछि अभियानमा पाँच तारा साकोस पनि निरन्तर समाहित हुन पाएकोमा खुशी व्यक्त गरे । चैत्र २० गते आफ्नो लागि सधैं स्मरणीय दिन भएको भन्दै अध्यक्ष पाठकले मानवीय कार्यमा योगदान पु¥याउने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन सुरु गरेको जानकारी दिए ।

संस्थाले दर्ता प्रमाण लिएको १० दिनपछि बैशाख १ गतेबाट औपचारिक रुपमा वित्तीय कारोबार सुरु गरेको बताउँदै उनले ३२ जना सदस्य र सानो पुँजीबाट संस्था सुरु गरेको स्मरण गरे । उनले भने,‘जसरी अहिले सहकारी क्षेत्रको विश्वास डगमगाएको छ, हामीले सहकारी सुरु गर्दाको अवस्था पनि झन्डै यस्तै थियो । संस्था दर्ताका लागि लालपुर्जा माग्दा आफ्नै परिवारका सदस्यले विश्वास गरेनन् । सुरुवातमा ५० जनाले लालपुर्जा दिने भने पनि पछि ३२ जनाको लालपुर्जाबाट जसोतसो सानो कोठाबाट संस्था सुरु गरियो ।’
काठमाडौं–३२ टाउन प्लानिङ्ग आवास क्षेत्रमा वित्तीय सेवा लिनको लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नभएको र त्यो समयमा आश्यकताले नै संस्था सुरु गरिएको अध्यक्ष पाठकले जानकारी दिए । त्यस बेला बचत ऋणको कारोबार गर्ने भन्दा नयाँ आवास क्षेत्र भएकाले नयाँ घरहरु बनिरहेको र वित्तीय कारोबार गर्ने कुनै संस्था नै नभएकाले सेवा दिन सहकारी स्थापना गरेको उनको स्मरण छ । संस्था स्थापना गर्न साथसहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अध्यक्ष पाठकले सुरुवाती दिनमा ३२ हजार बचतबाट सुरु भएको संस्थाको आजसम्म आइपुग्दा १ अर्ब माथिको वासलात पुगेको बताए । समाजमा धेरै सहकारी संस्था स्थापना भएको भए पनि कतिपय संस्थाले सदस्यको बचत दुरुपयोग गर्दा राम्रो काम गर्नेहरु पनि अपमानित हुनु परेको तितो यथार्थ उनले बताए ।
बैंकबाट ऋण लिन कम्पनी दर्ता गरी नाफामा गएको हुनुपर्ने व्यवस्था रहेको र त्यसले समाजमा केही गर्ने सोच र योजना भएका नवप्रतिभाहरुलाई अप्ठ्यारो पारेको अवस्थामा संस्थाले बिनाधितो ऋण दिएर धेरै सदस्यलाई उद्यमी बनाउन सकेकोमा उनले गर्व गरे । समाजमा न्युन आय भएका र बैंक तथा वित्तीय संस्थाले नपत्याएकाहरुको आर्थिक उत्थान गर्न सहकारीको स्थापना भएको भन्दै उनले त्यो काम पाँच ताराले गर्दै आएको सुनाए । विगतमा भावनामा बगेर सदस्यहरुलाई चाहिने भन्दा बढी ऋण लगानी गर्दा आफुहरु पनि पीडित बनेको र सहकारीबाट लिएको ऋण समयमा भुक्तानी गर्नु सदस्यको दायित्व भएको उनले उल्लेख गरे । सदस्यले समयमा ऋणको साँवा ब्याज भुक्तानी नगर्दा संस्थाहरु समस्यामा परेको र ऋणीले समयमा ऋण तिरे ८० प्रतिशत समस्या समाधान हुने उनको दावी छ । सहकारी क्षेत्रमा एउटै व्यक्ति धेरै ठाउँमा भयो कि भन्ने आवाज सुनिने गरेको भन्दै अध्यक्ष पाठकले सुरुवाती चरणमा १५ सय मासिक तलब दिएर व्यवस्थापक नियुक्त गरेको उनले सुनाए । संस्थाले सुरुवातदेखि नै मितव्यायिता अपनाएकाले संस्थाको आफ्नै भवन र बलियो संस्थागत पुँजी कायम भएको उल्लेख गरे । संस्थाले स्थापना कालदेखि नै ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ प्रदान गर्न सुरु गरेको भन्दै उनले अभियानमा यस्तो कार्य गर्ने पाँच तारा पहिलो संस्था भएको दावी गरे । बचत तथा ऋणका माध्यमबाट सदस्यको आर्थिक रुपान्तरणसँगै सामाजिक कार्यमा पनि संस्था अगाडि रहेको पाठकको भनाई छ । विगतमा संस्थाले हरेक बर्ष सहकारी अभियन्ता सम्मान प्रदान गर्ने गरेकोमा यस वर्षबाट भने हरेक दुइ वर्षमा सम्मान गर्ने र पुरस्कार राशी ५१ हजार १११ पु¥याउने निर्णय सञ्चालक समितिले गरेको उनले जानकरी दिए ।
संस्थाका सञ्चालक सुशील प्रसाईले सञ्चालन गरेको कार्यक्रममा जेष्ठ सदस्य डम्बर बहादुर तुम्बाहाङ्फे, छत्रभुषण दाहाल र नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पाँच तारा त्यस क्षेत्रकै अग्रणी संस्था भएको भन्दै सदस्यको सहारा बन्न सकेको उल्लेख गरे ।

।







Comment