वाणिज्य बैंकहरूको नाफा ४४ अर्ब नजिक, नबिल अग्रस्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंकहरूको नाफा ४४ अर्ब नजिक, नबिल अग्रस्थानमा



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामा वाणिज्य बैंकहरूले झण्डै ४४ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।

यो नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा बैंकहरूले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका थिए।

तथ्याङ्क अनुसार ९ बैंकको नाफा बढेको छ भने ११ बैंकको नाफा घटेको देखिएको छ। राजनीतिक अस्थिरता र आन्दोलनका बीच पनि बैंकहरूको नाफा सन्तोषजनक देखिएको छ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको रूपमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले २६.८७ प्रतिशतले नाफा बढाउँदै ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ पुर्‍याएको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो। दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकको नाफा भने २.२६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ।

नाफा वृद्धिका आधारमा कुमारी बैंक र सिद्धार्थ बैंक अगाडि देखिएका छन्। कुमारी बैंकको नाफा २७४ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड पुगेको छ भने सिद्धार्थ बैंकको नाफा ६८ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

अन्य बैंकहरूतर्फ, एभरेष्ट बैंकको नाफा ३.३५ प्रतिशतले घटेर २ अर्ब ९० करोड, इन्भेष्टमेन्ट मेगा बैंकको २९.४९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड, प्राइम बैंकको ९.६८ प्रतिशतले बढेर २ अर्ब ७४ करोड पुगेको छ।

त्यसैगरी, एनएमबि बैंकको नाफा २.५८ प्रतिशतले घटेर २ अर्ब ६४ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३५.६८ प्रतिशतले बढेर २ अर्ब ३३ करोड, सानिमा बैंकको २३.२१ प्रतिशतले बढेर २ अर्ब ७ करोड पुगेको छ।

यस्तै, स्टान्डर्ड चार्टर्ड बैंक नेपालको नाफा ११६.८७ प्रतिशतले घटेर १ अर्ब ८० करोड र प्रभु बैंक को १७.४० प्रतिशतले घटेर १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

अन्य बैंकहरूमा माछापुच्छ्रे बैंकको १ अर्ब ४८ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ३८ करोड, हिमालयन बैंकको १ अर्ब ३२ करोड, कृषि विकास बैंकको १ अर्ब २२ करोड र नेपाल बैंकको १ अर्ब १८ करोड नाफा रहेको छ।

त्यस्तै, सिटिजन्स बैंकले ८० करोड र लक्ष्मी सनराइज बैंक ले ६५ करोड रुपैयाँ नाफा कमाएका छन्। यता एनआईसी एशिया बैंक भने निरन्तर दबाबमा देखिएको छ। बैंकको नाफा ६२.४० प्रतिशतले घटेर मात्र ३० करोड रुपैयाँमा सीमित भएको छ।

प्रकाशित : 7 April, 2026 12:49 pm