जीडीपीमा सहकारीको योगदान कति ? देशभर सर्वेक्षण हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जीडीपीमा सहकारीको योगदान कति ? देशभर सर्वेक्षण हुने



काठमाडौं । सहकारी विभागले नेपालको राष्ट्रिय कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सहकारी क्षेत्रको वास्तविक योगदान मापन गर्ने उद्देश्यसहित चैत्र १९ गते बिहीबारदेखि राष्ट्रिय सर्वेक्षण प्रक्रिया सुरु गर्ने भएकाे छ।

विभागले सर्वेक्षण कार्य सफल बनाउन सम्बन्धित सबै सरोकारवाला निकाय, सहकारी संघ–संस्था तथा प्रतिनिधिहरूसँग आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेको छ। यो सर्वेक्षण राष्ट्रिय तथ्यांक कार्यालयसँगको सहकार्यमा सञ्चालन हुन लागेको हो।

विभागका अनुसार, २०८२ चैत १९ देखि २०८३ असारसम्म स्थलगत रूपमा तथ्यांक संकलन गरिनेछ। यस अवधिमा छनोटमा परेका सहकारी संघ–संस्थाहरूमा गणकहरू खटाइनेछन्। तथ्यांक संकलनका लागि खटिएका गणकहरूलाई आवश्यक विवरण उपलब्ध गराई सहयोग गर्न सहकारीहरूलाई विशेष अनुरोध गरिएको छ।

यसअघि २०७६ सालमा सहकारी विभागले एकल रूपमा गरेको सर्वेक्षणको आधिकारिकतामाथि विभिन्न प्रश्न उठेपछि यसपटक प्राविधिक दक्षता र विश्वसनीयता सुनिश्चित गर्न राष्ट्रिय तथ्यांक कार्यालयसँग सहकार्य गरिएको हो।

प्रकाशित : 1 April, 2026 10:58 am