भक्तपुर । सहकारी संस्थाहरूको संस्थागत विकास तथा कानुनी परिपालनालाई सुदृढ बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिका क्षेत्रका सहकारी संस्थाहरूका लागि आयोजित सदस्य सक्षमता तालिम सम्पन्न भएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि। अन्तर्गत चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा कमलविनायकस्थित होटल यचुमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष जगन्नाथ प्रजापतिले सहकारी संस्थालाई नीति, विधि र प्रविधिअनुसार सञ्चालन गर्न यस्ता तालिम अपरिहार्य रहेको बताए। उनले नव(निर्वाचित सञ्चालकहरूले निर्वाचित भएको तीन महिनाभित्र क्षमता अभिवृद्धि तालिम लिनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सोही अनुरूप तालिम आयोजना गरिएको जानकारी दिए।
उपाध्यक्ष प्रजापतिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न र संस्थालाई सदस्य–केन्द्रित बनाउन आग्रह गरे।
तालिमका विभिन्न सत्रमा सहकारी क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिएका थिए। संघका पूर्व अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीको ऐतिहासिक विकासक्रम, आधारभूत अवधारणा र सात सिद्धान्तहरूको व्यावहारिक प्रयोगबारे प्रकाश पार्नुभयो। साथै, उनले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उपसमितिहरूको भूमिका र जिम्मेवारी स्पष्ट पार्दै जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याए।
त्यसैगरी, संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक लेखापरीक्षणको महत्त्वबारे प्रस्तुतीकरण गरे। उनले संस्थालाई जोखिममुक्त बनाउन प्रभावकारी बैठक सञ्चालन, सही निर्णय लेखन र पारदर्शी व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे। सहभागीहरूलाई प्रयोगात्मक अभ्याससमेत गराइएको थियो।
चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिकी संयोजक चण्डीका छुकांले तालिमले सहकारी संस्थाहरूलाई विधिसम्मत र पारदर्शी रूपमा सञ्चालन गर्न थप ऊर्जा प्रदान गरेको विश्वास व्यक्त गरे। उनले सहकारीहरूबीच एकता र समन्वयलाई अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता जनाए।
सहभागीहरूको तर्फबाट झझल्को बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिप कुमार के.सी. ले तालिमका विषयवस्तु अत्यन्त उपयोगी र व्यवहारिक रहेको बताउँदै संस्था सञ्चालनमा आइपर्ने चुनौती समाधानमा सहयोग पुगेको धारणा राखे।
कार्यक्रममा चाँगुनारायण नगर क्षेत्रका विभिन्न सहकारी संस्थाबाट सञ्चालक समिति, लेखा समिति तथा व्यवस्थापकसहित ४३ जनाको सक्रिय सहभागिता रहेको थियो।सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न र सुशासन कायम गर्न यस्ता तालिम कार्यक्रमहरू महत्वपूर्ण हुने निष्कर्ष निकाले।






Comment