आयोजना प्रभावित स्थानीयका लागि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

आयोजना प्रभावित स्थानीयका लागि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कालंगा हाइड्रोले आज चैत १० गतेदेखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँबराबरको ४९ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको छ।

स्थानीयलाई छुट्याइएको शेयरमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अतिप्रभावित क्षेत्र बझाङको केदारस्युँ गाउँपालिका वडा नं ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं ६ र ८, बुंगल नगरपालिकाको वडा नं ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं १ का स्थायी बासिन्दाहरुलाई र ४ लाख ९० हजार कित्ता शेयर बझाङको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाका स्थानीयमा छुट्याइएको छ।

यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गर्न लागेको छ।

यो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा चैत २४ गते र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन्।

स्थानीयले बिक्री प्रबन्धकका साथै आयोजनस्थल कार्यालय, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको केदारस्युँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छविसपाथिभारा गाउँपालिका, बझाङ र डिलासिनी गाउँपालिका, बैतडी शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट र सीडीएससीको ‘मेरो शेयर’ आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

प्रकाशित : १० चैत्र २०८२, मंगलबार ११:३७ 24 March, 2026 11:37 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।