अटोमोवाइल क्षेत्र सुधारमा प्रदेश–नाडा सहकार्य आवश्यक : मुख्यमन्त्री बानिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अटोमोवाइल क्षेत्र सुधारमा प्रदेश–नाडा सहकार्य आवश्यक : मुख्यमन्त्री बानिया



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले अटोमोवाइल क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।

मंगलबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा मुख्यमन्त्री बानियाले राजधानी क्षेत्रमा ट्राफिक व्यवस्थापन, पार्किङ अभाव लगायतका चुनौती समाधान गर्न संयुक्त पहल आवश्यक रहेको औंल्याए।

भेटका क्रममा उनले नयाँ कार्यसमिति गठन भएकोमा नाडा नेतृत्वलाई बधाई दिँदै संस्थाको ५० वर्षे अनुभव राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै शासन व्यवस्थामा काम गरेको उल्लेख गर्दै प्रशंसा गरे। बानियाले देशभर दर्ता हुने करिब ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमै केन्द्रित हुने भएकाले व्यवस्थापन चुनौती जटिल बन्दै गएको बताए।

उनले अटोमोवाइल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा ट्रायल सेन्टर स्थापना जस्ता विषयमा प्रदेश सरकार र नाडाबीच सहकार्यको सम्भावना औंल्याए।

सो अवसरमा नाडाका अध्यक्ष उप्रेतीले संगठनमा सातै प्रदेश समेटिएका २८८३ सदस्य कम्पनी आबद्ध रहेको जानकारी दिँदै अटोमोवाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताए। उनले वार्षिक करिब ५ हजार दक्ष जनशक्तिको आवश्यकता पर्ने उल्लेख गर्दै प्रदेश सरकारसँग सहकार्यका सम्भावित क्षेत्रबारे मोडालिटी तयार गरी पेश गर्ने प्रतिबद्धता जनाए।

नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अटोमोवाइल क्षेत्रमार्फत मुलुकबाट भइरहेको प्रतिभा पलायन रोक्न प्रयास भइरहेको उल्लेख गर्दै सीपमूलक तालिम कार्यक्रमलाई प्रदेश सरकारसँग सहकार्य गरेर अझ प्रभावकारी बनाउने धारणा राखे।

त्यसैगरी, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ ले अटोमोवाइल प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा सोहीअनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन चुनौतीपूर्ण रहेको बताए। उनले नाडाले परिस्कृत पाठ्यक्रम विकास गरिरहेको र आवश्यक स्रोतसाधन तथा दक्ष प्रशिक्षकको अभाव रहेको औंल्याए। छलफलमा नाडाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित : 24 March, 2026 11:15 am