काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र प्रभावशाली छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघ यतिबेला आफ्नो ६०औँ वार्षिक साधारणसभाको तयारीमा जुटेको छ। आगामी चैत २८ र २९ गते राजधानी काठमाडौंमा आयोजना हुने साधारणसभाले महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान छ। सोही व्यवस्थाका कारण हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ महासंघको आगामी अध्यक्ष बन्ने निश्चित भइसकेको छ। श्रेष्ठले नेतृत्व सम्हाल्ने पक्का भएपनि महासंघका अन्य महत्वपूर्ण पदहरूका लागि भने तीव्र चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
यो पटक महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति स्वतः अध्यक्ष बन्न पाउँने छैनन्। अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो। तर वरिष्ठ उपाध्यक्षमा पनि यस्तै प्रवृत्ति कायम रहँदा पुरानै व्यवस्थामा महासंघ फर्किएको हो। २०७३ सालमा महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो।
अहिले कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हुने व्यवस्था गरिएको छ। विधान संशोधनअघि कार्यसमितिको कार्यकाल तीन वर्षको थियो। विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा पहिलो अध्यक्ष बनेकी थिइन्। त्यसपछि वरिष्ठ उपाध्यक्षबाट शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल अध्यक्ष बन्न सफल भइसकेका छन्।
हेमराज ढकाल समूहको तयारी र प्यानल
महासंघका वर्तमान वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले आफ्नो प्यानलसहित औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन्। ढकालले महासंघलाई अझ बढी प्रभावकारी बनाउने र निजी क्षेत्रको आवाजलाई नीतिगत तहमा सशक्त रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ढकालको प्यानलमा विभिन्न पदका लागि उम्मेदवारहरूको टिम तय गरिएको छ। ढकालको समूहबाट एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरिएको छ।
ढकाल समूहले व्यवसायीहरूबीच सहकार्य र छलफललाई प्राथमिकता दिँदै निजी क्षेत्रका साझा समस्या समाधानका लागि सरकारसँग नीतिगत पहल गर्ने एजेन्डा अघि सारेको छ। उद्योग व्यवसायको विकासमा महासंघको भूमिकालाई सक्रिय बनाउनु नै आफ्नो समूहको मुख्य लक्ष्य रहेको ढकाल पक्षको दाबी छ ।
रामचन्द्र संघई समूहको रणनीति
त्रिवेणी समूहका निर्देशक रामचन्द्र संघई पनि यसपटक वरिष्ठ उपाध्यक्ष पदका लागि बलियो उम्मेदवारका रूपमा मैदानमा छन् । संघई यसअघिको निर्वाचनमा पनि वरिष्ठ उपाध्यक्षको प्रत्याशी रहेका थिए। यसपटक उनी थप तयारीका साथ आफ्नै टिम बनाएर प्रतिस्पर्धामा होमिएका छन्।
संघई समूहले हालसम्म आफ्नो पूर्ण प्यानल सार्वजनिक नगरे पनि केही मुख्य पदका उम्मेदवारहरूको नाम बाहिर आएको छ। संघई समूहबाट एशोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे, जिल्ला नगर उपाध्यक्षमा कृष्ण शर्मा र वस्तुगततर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरे उम्मेदवार रहने जानकारी दिइएको छ।
संघईले उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने र मुलुकमा उद्यमशीलता प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखेका छन्। महासंघलाई निजी क्षेत्रको वास्तविक प्रतिनिधिको रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।
महासंघको नेतृत्व चयन प्रक्रिया
महासंघको संरचनाअनुसार साधारणसभाबाट वरिष्ठ उपाध्यक्षका अतिरिक्त विभिन्न विधाका उपाध्यक्षहरू र केन्द्रीय सदस्यहरूको पनि चयन हुनेछ। यसमा वस्तुगत, जिल्ला तथा नगर, र एसोसिएट तर्फका प्रतिनिधिहरूले मतदान गरी नेतृत्व चयन गर्दछन्।
नेपालभरका उद्योग, व्यापार, सेवा, पर्यटन, र बैंकिङ जस्ता विभिन्न क्षेत्रका व्यवसायीहरूको प्रतिनिधित्व रहने भएकाले यो निर्वाचनलाई निजी क्षेत्रको ‘मिनी संसद्को’ चुनावका रूप जस्तै मानिन्छ। महासंघले धेरैजसाे सरकारसँग नीतिगत संवाद गर्ने र लगानीको वातावरण सुधारका लागि निरन्तर पहल गर्दै आएको छ।
नयाँ नेतृत्वका चुनौती र व्यवसायीका अपेक्षा
मुलुकको हालको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको समयमा महासंघको नयाँ नेतृत्व चयन हुन लागेको छ। पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तता, निजी क्षेत्रको घट्दो लगानी र औद्योगिक उत्पादनमा आएको ह्रासले व्यवसायीहरू चिन्तित छन्।
व्यवसायीहरूले नयाँ नेतृत्वबाट सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउन नेतृत्वले विशेष पहल गरोस् भन्ने छ । त्यसैगरी निजी क्षेत्रको लगानी सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग प्रभावकारी समन्वय होस् र निजी क्षेत्रका समस्याहरूलाई नीतिगत तहमै समाधान गर्न महासंघले दरिलो आवाज उठाओस् भन्ने छ । यससगै मुलुकभित्रै औद्योगिक विकास र रोजगारीका अवसरहरू सिर्जना गर्न नेतृत्वले भूमिका खेल्ने पनि उनीहरुको अपेक्षा रहेको छ ।






Comment