विराटनगरमा पहिलोपटक ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विराटनगरमा पहिलोपटक ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना हुँदै



विराटनगर । उद्योग संगठन मोरङले पहिलोपटक विराटनगरमा “घर निर्माण प्रदर्शनी २०८२ (CIM Home Build Exhibition 2026)” आयोजना गर्ने भएको छ। संगठनले बिहीबार पत्रकार सम्मेलनमार्फत आगामी चैत्र १२ देखि १६ गतेसम्म जैन भवन, विराटनगरमा प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो।

निर्माण क्षेत्रको समग्र विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा व्यवसाय–देखि–व्यवसाय (B2B) र व्यवसाय–देखि–उपभोक्ता (B2C) नेटवर्क विस्तार गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। निर्माण क्षेत्रसँग सम्बन्धित कच्चा पदार्थदेखि लिएर आन्तरिक सजावटसम्मका विविध उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिनेछ।

प्रदर्शनीमार्फत निर्माण मूल्य शृंखलामा आबद्ध उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति–निर्माता तथा उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्य राखिएको छ। यसले नवप्रवर्तन प्रवर्द्धन, नयाँ साझेदारी निर्माण तथा बजार विस्तारमा सहयोग पुग्ने विश्वास आयोजकको छ।

आयोजकका अनुसार घर निर्माण हरेक नेपालीको सपना भएकाले सुरक्षित, दिगो र आधुनिक घर निर्माणबारे जनचेतना अभिवृद्धि गर्न पनि प्रदर्शनी महत्वपूर्ण हुने छ। घर कसरी सुरक्षित बनाउने, निर्माण सामग्री कसरी छनोट गर्ने, पुराना घरको मर्मत तथा जिर्णोद्धार कसरी गर्ने जस्ता विषयमा पनि जानकारी दिइनेछ।

प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहनेछन्। जसमा सिमेन्ट, इट्टा, स्टिल, टायल, स्यानिटरी, विद्युत् सामग्री, सोलार प्रणाली, स्मार्ट होम प्रविधि, फर्निचर, इन्टेरियर डिजाइन, निर्माण सेवा, बैंक तथा बीमा सेवासहित विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू समावेश गरिनेछ।

प्रदर्शनी अवधिभर हरेक दिन विशेषज्ञहरूद्वारा विभिन्न विषयमा अन्तरक्रिया तथा प्रस्तुति पनि गरिनेछ। भूकम्प प्रतिरोधी निर्माण, विद्युत् सुरक्षा, स्मार्ट होम प्रविधि, सोलार प्रणाली, वाटरप्रुफिङ, धमिरा नियन्त्रण तथा भवन मर्मतसम्बन्धी विषयमा विशेष सत्र सञ्चालन गरिने कार्यक्रम रहेको छ।

“सुरक्षित घर, स्मार्ट जीवन” भन्ने नारासहित आयोजना हुने प्रदर्शनीले आधुनिक तथा दिगो निर्माण अभ्यासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

उद्योग संगठन मोरङको आयोजनामा हुने प्रदर्शनीको प्रवर्द्धक विराटनगर महानगरपालिका रहेको छ भने निमाटो टाइल्स टाइटल स्पोन्सरका रूपमा रहेको छ। अन्य विभिन्न कम्पनीहरू समेत सह–प्रायोजक तथा सहयोगीका रूपमा सहभागी हुनेछन्।

प्रकाशित : 19 March, 2026 1:20 pm