काठमाडौँ। एक चल्तीको डेरी उद्योग सीताराम गोकुल मिल्क्स सरकारी अनुगमनको घेरामा परेको छ। यो कम्पनी केडिया अर्गनाइजेशनको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आकस्मिक निरीक्षणका क्रममा उक्त उद्योगको दूधमा चिल्लो पदार्थ (फ्याट)को मात्रा तोकिएको मापदण्डभन्दा निकै कम भेटिएपछि विभागले कडा कदम चालेको हो। यो कारबाहीले उपभोक्ताको भान्छामा पुग्ने दैनिक उपभोग्य वस्तुको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।
विभागको नियमित बजार अनुगमन टोलीले कीर्तिपुरस्थित यो डेरीबाट संकलन गरेको नमुना परीक्षण गर्दा चकित पार्ने तथ्य बाहिर आएको हो। सरकारी मापदण्डले प्रशोधित दूधमा कम्तीमा ३ प्रतिशत चिल्लो पदार्थ (फ्याट) हुनुपर्ने स्पष्ट व्यवस्था गरे पनि सीताराम गोकुल मिल्क्सको दूधमा केवल १.४ प्रतिशत मात्रै फ्याट फेला पर्यो।
यसरी आधाभन्दा बढी चिल्लो पदार्थ घटाएर बजारमा दूध पठाउनुले उपभोक्तालाई आर्थिक र पोषण दुवै हिसाबले ठगी गरेको देखिन्छ। गुणस्तरहीन दूध फेला परेलगतै विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को सहारा लिँदै बजारमा जान तयारी अवस्थामा रहेका झन्डै ५०० क्रेट दूध जफत गरेको छ। विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले कोल्ड स्टोरमा राखिएका ती दूधका पोकाहरू बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको जानकारी दिइन्।
२०८२ फागुन २ गते उत्पादन मिति उल्लेख भएको उक्त ब्याचका दूधहरू अब प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउन्जेल बिक्री गर्न पाइने छैन। विभागले बरामद गरेको दूधलाई थप सुक्ष्म अनुसन्धानका लागि केन्द्रीय प्रयोगशाला पठाएको छ। प्रवक्ता शर्माका अनुसार यो केवल एउटा ब्याचको समस्या हो वा उद्योगको नियमित लापर्बाही, त्यसको निर्क्योल प्रयोगशालाको अन्तिम रिपोर्टले गर्नेछ।






Comment