सानिगाड हाइड्रोकाे आइपीओ आउँदै, क-कस्ले दिन पाउँछ आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिगाड हाइड्रोकाे आइपीओ आउँदै, क-कस्ले दिन पाउँछ आवेदन ?



काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमूल्य १८ लाख ५२ हजार ५०० कित्ता सेयर अति प्रभावित क्षेत्र सुदूरपश्चिमत प्रदेश, बझाङ जिल्ला अन्तर्गतका बुंगल नगरपालिका वडा नं. १,२ र ४ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाको वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड ७० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ७ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

स्थानिय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै पावर हाउस विरावगर, बुंगलबाट पनि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित : 15 March, 2026 12:36 pm