भरतपुरमा रहेको कस्तुरी फर्मास्युटिकल्सले १६ लाख कित्ता आईपीओ ल्याउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भरतपुरमा रहेको कस्तुरी फर्मास्युटिकल्सले १६ लाख कित्ता आईपीओ ल्याउने तयारी



भरतपुर। भरतपुरमा अवस्थित कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १६ लाख कित्ता साधारण शेयर (IPO) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले चैत्र मसान्तभित्र धितोपत्र बोर्डमा निवेदन दिने योजना बनाएको जनाएको छ।

WHO-GMP, ISO 9001:2015 र ISO 14001:2015 प्रमाणित औषधि उद्योग कस्तुरी फर्मास्युटिकल्स लिमिटेड भरतपुरमा स्थापना भएको पहिलो औषधि उद्योग हो। कम्पनीले विगत १३ वर्षदेखि औषधि उत्पादन गर्दै आएको छ। करिब १ विघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योगले उत्पादन गरेका औषधिहरू देशभरका विभिन्न डिपोमार्फत बजारमा आपूर्ति हुँदै आएका छन्।

कम्पनीले हालसम्म १८२ भन्दा बढी औषधि उत्पादनको अनुमति प्राप्त गरेको छ भने १२५ भन्दा बढी औषधि बजारमा बिक्री भइरहेका छन्। कम्पनीका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रवन्ध निर्देशक इश्वर भण्डारी तीन दशकभन्दा बढी समयदेखि औषधि उद्योग क्षेत्रमा सक्रिय अनुभवी व्यवसायी हुन्।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ। संस्थापकहरूका लागि थप १४ करोड रुपैयाँको शेयर जारी प्रक्रिया चलिरहेको छ। यसपछि सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ जारी गर्ने योजना रहेको कम्पनीले जनाएको छ। आईपीओ जारीपछि कम्पनीको कुल चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। त्यस्तै, कम्पनीले इन्फोमेरिक्स नेपालबाट क्रेडिट रेटिङ प्राप्त गरिसकेको छ, जसअनुसार कम्पनीले ‘BB–’ रेटिङ प्राप्त गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय अवस्था सन्तोषजनक रहेको र जोखिम अपेक्षाकृत न्यून रहेको संकेत गर्दछ।

कम्पनीले विगतमा लिएका अधिकांश कर्जा भुक्तानी गरिसकेको जनाएको छ। हाल कम्पनीको कुल कर्जा करिब २४ करोड रुपैयाँ मात्र रहेको छ। यसअघि कम्पनीले मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्दै आएको र आगामी दिनमा पनि लाभांश दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

पौष मसान्त २०८२ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९३ पैसा रहेको छ भने धितोपत्र बोर्डको आवश्यकताअनुसारको वास्तविक नेटवर्थ ९२ रुपैयाँ ०५ पैसा रहेको बताइएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म उक्त वास्तविक नेटवर्थ ११२ रुपैयाँ ८१ पैसा पुग्ने कम्पनीको अनुमान छ।

कम्पनीले आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया लगभग पूरा भइसकेको जनाएको छ। नयाँ सेयरधनी लगत प्राप्त भएपछि धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिने निर्णय गरिएको कम्पनीका कार्यकारी अध्यक्ष प्रवेक खनालले जानकारी दिएका छन्।

प्रकाशित : 15 March, 2026 12:01 pm