प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार ग्राहकहरूको खाताबाट काटिएको कर विवरण आयकर ऐन २०५८ अनुसार आन्तरिक राजश्व विभाग को स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको जनाएको छ।

ग्राहकहरूले बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत “प्यान अपडेट” विकल्प प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा गई आवेदन दिएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको कर TDS (Tax Deducted at Source) रेकर्डमा प्रविष्ट गर्न प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सोही प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वतः अनुसूची १० मा कर विवरण मिलान गर्नेछ। यसबाट ग्राहकहरूले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ।

बैंकले प्यान अद्यावधिक नगराएको कारणले TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा वा त्यसपछि कर समायोजन गर्नुपर्ने भएमा बैंक जिम्मेवार नहुने जानकारी पनि दिएको छ।

यसका साथै बैंकले ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैंकको भिडियो KYC सेवा वा मोबाइल बैंकिङ एपमा रहेको “My Profile” विकल्प प्रयोग गरी इमेल अपडेट गर्न सक्नेछन्। शाखा कार्यालयमार्फत पनि इमेल अद्यावधिक गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।

यदि यसअघि प्यान उपलब्ध गराए पनि करकट्टीको विवरण समावेश नभएको वा इमेल अद्यावधिक नभएको अवस्थामा नजिकैको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

प्रकाशित : 9 March, 2026 2:40 pm