राजनीतिक तरंगसँगै नेप्सेमा उछाल, एक घण्टामै ६ प्रतिशत बढेर कारोबार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राजनीतिक तरंगसँगै नेप्सेमा उछाल, एक घण्टामै ६ प्रतिशत बढेर कारोबार बन्द



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा तीव्र उत्साह देखिएको छ। बजार खुलेको करिब एक घण्टामै लगातार तीन पटक सकारात्मक सर्किट लागेपछि आजका लागि कारोबार बन्द गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ बिन्दुमा पुगेपछि ६ प्रतिशतको वृद्धि पूरा भई कारोबार स्वतः बन्द भएको हो।

नयाँ सरकार गठनको सम्भावनासँगै लगानीकर्ताको मनोबल बढ्दा बजार खुलेको केही समयमै तीव्र बढोत्तरी देखिएको थियो। बजार खुल्नेबित्तिकै सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि पुनः खुलेको बजारमा करिब एक मिनेटमै दोस्रो सर्किट लाग्यो।

प्रि–ओपन सेसनमै दोहोरो अंकले बढेको बजार नियमित कारोबार सुरु भएको एक मिनेटमै १०८.६० अंकले उकालो लाग्दै पहिलो सर्किटमा पुगेको थियो। त्यसपछि नेप्से ५ प्रतिशत अर्थात १३५.७२ अंकले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो। दोस्रो पटक खुलेपछि पनि बजारमा खरिदचाप उच्च देखिँदा परिसूचक ६ प्रतिशत बढेर आजका लागि कारोबार बन्द भएको हो।

आज कुल २५२ कम्पनीको सेयर मूल्य बढ्दा एक कम्पनीको मात्र घटेको छ। करिब ११ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका आधारमा नारायणी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ। जसको ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै शिवम् सिमेन्टको २ करोड ८९ लाख र एसवाई प्यानलको २ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज २४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र शिभश्री हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन्। यता रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य भने १.४९ प्रतिशतले घट्दै आज घट्ने एक मात्र कम्पनी बनेको छ।

प्रकाशित : 9 March, 2026 12:23 pm