काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा र रोजगारीबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।
आइतबार जारी प्रेस विज्ञप्तिमा केन्द्रले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाले हजारौँ नेपाली श्रमिकको जीवन, सुरक्षा र रोजगारीमा प्रत्यक्ष असर पारिरहेको जनाएको छ। निरन्तर अस्थिरता, सुरक्षा जोखिम र आवतजावतमा आएको अवरोधका कारण नेपाली श्रमिकहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भइरहेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
केन्द्रका अनुसार मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरू अहिले त्रास र अनिश्चितताको वातावरणमा बस्न बाध्य छन्। कतिपय श्रमिक सुरक्षित स्थानमा सर्न नसकेको अवस्था, आवास तथा स्वास्थ्य सुरक्षाको अभाव जस्ता समस्यासँग जुधिरहेका छन्। यस्तो संवेदनशील परिस्थितिमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने संघले जोड दिएको छ।
यस सन्दर्भमा केन्द्रले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रभावित क्षेत्रमा रहेका नेपालीको यथार्थ अवस्था पहिचान गरी तत्काल प्रभावकारी समन्वय, निगरानी र सुरक्षात्मक पहल गर्न आग्रह गरेको छ। आवश्यक परे उद्धार, सुरक्षित स्थानान्तरण तथा स्वदेश फिर्तीको स्पष्ट कार्ययोजना सार्वजनिक गरी कार्यान्वयन गर्न पनि माग गरिएको छ।
रोजगारी गुमाएका वा जोखिममा परेका श्रमिक तथा उनीहरूका परिवारका लागि राहत र पुनर्स्थापना सम्बन्धी विशेष व्यवस्था गर्न पनि JTUCC ले सरकारसँग माग गरेको छ। साथै, सम्बन्धित रोजगारदाता कम्पनीहरूले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र मानवअधिकारका सिद्धान्तअनुसार श्रमिकको सुरक्षा तथा आधारभूत सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
संघले आफ्ना आबद्ध ट्रेड युनियन महासंघहरूमार्फत प्रभावित श्रमिक र उनीहरूको परिवारसँग निरन्तर सम्पर्क र सहकार्यमा रहने प्रतिबद्धता व्यक्त गर्दै द्वन्द्वरत सबै पक्षलाई संयमता अपनाई वार्ता र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न अपिल गरेको छ।






Comment