सात महिनामा बीमा व्यवसाय १७.५५ प्रतिशतले वृद्धि, कुल बीमाशुल्क १ खर्ब ४१ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बीमा

सात महिनामा बीमा व्यवसाय १७.५५ प्रतिशतले वृद्धि, कुल बीमाशुल्क १ खर्ब ४१ अर्ब नाघ्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिना माघसम्म १ खर्ब ४१ अर्ब रुपैयाँको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म बीमा कम्पनीहरुले १ खर्ब ४१ अर्ब ९८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को माघसम्म बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ७८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १७.५५ प्रतिशतले बढेको छ।

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म १ खर्ब १३ अर्ब ७१ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १८।४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको माघसम्म कम्पनीहरुले २७ अर्ब ७२ करोड २६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ८५ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २० अर्ब ७५ करोड ४१ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ७५ अर्ब २५ करोड ७७ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क ३३.५८ प्रतिशत र नवीकरण बीमाशुल्क १४.२६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ६२ लाख १५ हजार ३६९ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ४१ लाख ५३ हजार ८४८ वटा थियो। बीमालेख संख्या १४.५७ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १४.१२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५९ लाख ३५ हजार ९० वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ९.५८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५४ लाख १६ हजार १ वटा थियो।

चालु आर्थिक वर्षको माघसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७९ लाख ३४ हजार १३१ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २३ लाख ४६ हजार १४८ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख ३३ हजार १८१ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ४ हजार ६६६ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २५.२८ प्रतिशत भने वैदेशिक रोजगार बीमालेख संख्या २.४३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४९.८२ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४३.९४ प्रतिशत थियो।

प्रकाशित : १५ फाल्गुन २०८२, शुक्रबार ११:५६ 27 February, 2026 11:56 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।