काठमाडाै । वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोर्डर्ससँगको सहकार्यमा सिमरास्थित श्री नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा ‘I Jatra’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
‘iLab’ परियोजनाअन्तर्गत आयोजना गरिएको ‘I Jatra’ विद्यार्थीहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले गरिएको प्रदर्शनी तथा बिक्री मेला हो। कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेल गतिविधिसहित विभिन्न सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरेका थिए।
करिब छ महिना अघि विद्यार्थीहरूले iLab तालिम लिएका थिए। तालिमपछिको निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन तथा समूहगत कार्यका आधारमा ‘I Jatra’ आयोजना गरिएको विद्यालयले जनाएको छ। विगत दुई वर्षदेखि वल्डलिंकको CSR कार्यक्रमअन्तर्गत iLab परियोजना ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ। यसअघि ललितपुर र दार्चुलामा ‘I Jatra’ सम्पन्न भइसकेको थियो भने सिमरामा यस वर्ष पहिलोपटक आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै वल्डलिंककी CSR निर्देशक अनुपा भण्डारी जालानले देशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। विद्यार्थीलाई केवल किताबीय ज्ञानमा सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको उनको भनाइ थियो।
भण्डारी जालानले स्थानीय सरकार र सरोकारवालालाई विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण तथा व्यवसायीकरणमा सहयोग गर्न आग्रह गर्दै यस्तो सहकार्यले विद्यालय तहबाटै उद्यमशील संस्कृति विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास व्यक्त गरिन्।
‘I Jatra’मा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्मको प्रत्यक्ष अनुभव प्राप्त गरेका छन्। यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता तथा टोलीमा काम गर्ने दक्षता अभिवृद्धि गरेको बताइएको छ। आफ्नै उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसरले आत्मविश्वास वृद्धि गर्नुका साथै बजारको माग र ग्राहक व्यवहार बुझ्ने व्यावहारिक ज्ञानसमेत प्रदान गरेको विद्यालय प्रशासनले जनाएको छ।
वल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको छ। पछिल्ला वर्षहरूमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।






Comment