काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्राम स्थापनाले देशको औद्योगिकीकरण प्रक्रियामा महत्वपूर्ण टेवा पुग्ने बताएका छन्।
नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उद्योग ग्राम अवधारणाले निजी क्षेत्रलाई उत्पादन र लगानी विस्तारमा प्रोत्साहित गर्ने उल्लेख गरे। उनले आफ्नो समूह यस क्षेत्रमा उद्योग विस्तारका सन्दर्भमा सकारात्मक रहेको पनि बताए।
देशमा रोजगारीको ठूलो समस्या रहेको उल्लेख गर्दै गोल्छाले रोजगारी अभावकै कारण ठूलो संख्यामा युवा जनशक्ति विदेशिन बाध्य भएको बताए। “रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र निजी क्षेत्र हो, त्यसैले उद्योग स्थापना अपरिहार्य छ,” उनले भने।
उद्योग स्थापना हुँदा धुलो र धुवाँ जस्ता सामान्य वातावरणीय प्रभाव देखिन सक्ने भए पनि त्यसलाई सन्तुलित व्यवस्थापनमार्फत समाधान गर्न सकिने उनले स्पष्ट पारे। उद्योग विस्तारसँगै रोजगारी वृद्धि हुने, उत्पादन बढ्ने र समग्र अर्थतन्त्र सुदृढ हुने भएकाले औद्योगिक वातावरण निर्माणमा सबै पक्ष सकारात्मक हुनुपर्नेमा उनले जोड दिए।
गोल्छाले उद्योग ग्राम स्थापना भएपछि ठूलो संख्यामा उद्योग सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै लगानीमैत्री वातावरण, नीतिगत स्थायित्व र कानुनी रूपमा आर्जित प्रतिफलको सम्मान सुनिश्चित गर्नुपर्ने धारणा राखे। १०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि लगानी प्रोत्साहन अनिवार्य रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई भरोसापूर्ण वातावरण उपलब्ध गराउन सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताए।






Comment