सहकारी दर्ता म्याद आज सकिँदै, इजाजत प्रक्रियामा नआएकालाई अन्तिम अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी दर्ता म्याद आज सकिँदै, इजाजत प्रक्रियामा नआएकालाई अन्तिम अवसर



काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि दर्ता अभिलेखिकरण तथा सञ्चालन इजाजतसम्बन्धी प्रक्रिया पूरा गर्न दिएको समयावधि आज सकिन लागेको छ। तर प्रक्रियामा अझै सबै संस्थाहरू समेटिन नसकेपछि अन्तिम पटक म्याद थप गर्ने तयारी गरेको छ।

प्राधिकरणले “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२” अनुसार २०८२ मंसिर १० गतेदेखि दर्ता अभिलेखिकरण प्रक्रिया सुरु गरेको थियो। मापदण्डको दफा ३(४) अनुसार उक्त प्रक्रिया २०८२ माघ १० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने व्यवस्था थियो।

निर्धारित अवधिमा सबै सहकारी संस्थाहरूले विवरण प्रविष्ट नगरेपछि प्राधिकरणले पहिलो पटक म्याद थप गर्दै फागुन ११ गतेसम्म समय दिएको थियो। तर त्यस अवधिसम्म पनि सबै संस्थाहरू प्रक्रियामा नआएकाले पुनः समय थप गर्ने निर्णय गरिएको हो।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले चैत १७ गतेसम्म अन्तिम म्याद कायम गरिने बताएका छन्। उनका अनुसार धेरै सहकारी इजाजत प्रक्रियामा प्रवेश गरिसकेका छन् भने बाँकीलाई पनि सोही मितिसम्म अवसर दिइनेछ। त्यसपछि भने कुनै हालतमा म्याद थप नहुने उनले स्पष्ट पारे।

प्रकाशित : 23 February, 2026 11:58 am