अम्बे सिमेन्टको दमदार कमब्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अम्बे सिमेन्टको दमदार कमब्याक



काठमाडाैं । नेपालमा निर्माण सामग्री उत्पादका लागि स्थापित नाम अम्बे सिमेन्ट प्रालिकाे व्यापारमा उछाल देखिएकाे छ। सन् २०२५ मा अम्बे सिमेन्ट प्रालिको व्यापार ७२६.२८ प्रतिशतले बढेको छ ।

अम्बे सिमेन्टले आर्थिक वर्ष २०२५ मा १ अर्ब २८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा कम्पनीको व्यापार घटेर जम्मा १५ करोड ६० लाख रुपैयाँमा खुम्चिएको थियो ।

व्यापारमा आएको यो सुधारसँगै कम्पनीको नाफाको अवस्थामा पनि सकारात्मक देखिएको छ । आर्थिक वर्ष २०२४ मा ५ करोड ७० लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको कम्पनीले सन् २०२५ मा ७ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ ।

यद्यपि, उच्च ब्याज खर्च र अन्य प्राविधिक कारणले कम्पनी अझै २ करोड ९० लाख रुपैयाँ खुद घाटामा रहेको छ, जुन अघिल्लो वर्ष ९ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कार्यपुँजी व्यवस्थापन अझै पनि चुनौतीपूर्ण देखिएको छ । कच्चा पदार्थ खरिदमा नगद भुक्तानी गर्नुपर्ने बढ्दो बाध्यताका कारण बैंक ऋणमा निर्भरता उच्च छ । सन् २०२६ को मध्य जनवरीसम्मको तथ्यांक अनुसार कम्पनीले बैंकको ऋण सीमाको औसत ८० देखि ९० प्रतिशत उपयोग गरिरहेको छ । तर, उधारो उठाउने समय ७९६ दिनबाट घटेर ९३ दिनमा झर्नुले कार्यपुँजी दक्षतामा सुधार आएको संकेत गर्दछ ।

यही वित्तीय स्थिति र बजारको अवस्थालाई मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपालले कम्पनीको ६५ करोड ७५ लाख ९० हजार रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जा सुविधाको रेटिङ ‘केयर-एनपी ए४’ लाई यथावत राखेको छ ।

नेपालको पर्सामा क्लिंकर ग्राइन्डिङ प्लान्ट स्थापना गरी उत्पादनमूलक र व्यापारिक क्षेत्रका अनुभवी व्यक्तिहरूद्वारा प्रवर्द्धित अम्बे सिमेन्ट प्रालि (एसीपीएल) सन् २००४ मा स्थापना भएको एक निजी सीमित कम्पनी हो ।

दैनिक १,००० मेट्रिक टन उत्पादन क्षमता रहेको यस उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी), अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्ल्याग सिमेन्ट (पीएससी) उत्पादन गरी १० वटा विभिन्न ब्रान्डहरूमा बिक्री वितरण गर्दै आएको छ । १७ वर्षभन्दा लामो सञ्चालन इतिहास बोकेको यो कम्पनी नेपालको प्रतिष्ठित अम्बे ग्रुप अफ कम्पनीजको एउटा हिस्सा हो ।

आफ्नै क्लिंकर उद्योग नहुनु (व्याकवार्ड इन्टिग्रेसनको अभाव) र कच्चा पदार्थका लागि प्रतिस्पर्धी तथा आयातमा निर्भर हुनुपर्नु कम्पनीका मुख्य चुनौती हुन् ।

प्रकाशित : 19 February, 2026 4:15 pm