काठमाडौं । उपत्यकामा उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय उपत्यका मेयर्स फोरमले गरेको छ। फोरमको १३औँ बैठकले फोहर व्यवस्थापन र सार्वजनिक यातायात सुधारलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो।
बैठक चिरीबाबु महर्जनको अध्यक्षतामा काठमाडौँमा बसेको थियो। नवगठित समितिले फोहर व्यवस्थापनका विधि र प्रविधिबारे अध्ययन गर्नुका साथै स्थानीय तहबीच समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि आवश्यक पहल गर्नेछ। हाल उपत्यकाका विभिन्न ६ जिल्लाका २४ पालिकाबाट ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन हुँदै आएको छ। ढुवानीको काम नगरपालिका र निजी क्षेत्रबाट तथा साइट व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्दै आएको छ।
बैठकले गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार गर्ने तथा पूर्वाधार निर्माण र सञ्चालनमा नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ। साथै, मेट्रोको अवधारणा कार्यान्वयनमा संघ सरकारसँग सहकार्य गर्न स्थानीय तहहरू तत्पर रहेको अध्यक्ष महर्जनले जानकारी दिए।
बैठकमा सुनिता डंगोलले उपत्यकाको भूगोल, सांस्कृतिक मौलिकता र सामाजिक संरचनाअनुसार उपयुक्त सार्वजनिक यातायात मोडेल छनोट गर्नुपर्ने बताइन्। यसअघि भएका अध्ययनहरूको पुनरावलोकन गरी ठोस निष्कर्षमा पुग्न आवश्यक रहेको उनको भनाइ थियो।
फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी, नदी संरक्षण, खाद्य स्वच्छता, विपद व्यवस्थापन र जलवायु परिवर्तनजस्ता सीमाविहीन समस्या समाधानका लागि स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको बैठकले निष्कर्ष निकालेको छ।






Comment