१८ लाख ४२ हजार कित्ता सेयर बिक्रीमा ल्याउँदै शिखर पावर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१८ लाख ४२ हजार कित्ता सेयर बिक्रीमा ल्याउँदै शिखर पावर



काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर खुला गर्न लागेको हो।

कम्पनीले ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत अर्थात ३२ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये प्रभावित क्षेत्रका स्थानीयका लागि ९ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २२ हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ११ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ।

अब कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरमार्फत कम्पनीले १८ करोड ४२ लाख ६० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

रेटिङ एजेन्सी इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीद्वारा प्रवर्द्धित ४।९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २४ करोड १८ लाख रुपैयाँ छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.९२ वर्ष तथा डिस्काउन्ट अवधिमा १३.६४ वर्ष रहेको कम्पनीले जनाएको छ। उक्त आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ।

आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित : 17 February, 2026 12:00 pm