काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आजदेखि औपचारिक प्रचार–प्रसारको अवधि सुरु भएको छ। कानुनी प्रावधानअनुसार मतदान मितिभन्दा १५ दिनअगाडिबाट मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने व्यवस्था रहेको छ । यो अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ।
निर्वाचन आयोगले प्रचार–प्रसारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ। आयोगका अनुसार निर्वाचनको विश्वसनीयता जोगाउन सबै सरोकारवालाले नियमको अक्षरशः पालना गर्नुपर्नेछ।
आयोगले मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ। निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले संगठित रूपमा गरिने डिजिटल गतिविधिमाथि निगरानी संयन्त्र परिचालन गरिएको आयोगले जनाएको छ।
प्रचारका क्रममा आयोजना गरिने आमसभा वा कोणसभाको मञ्च व्यवस्थापनलगायत सम्पूर्ण खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। यसले चुनावी खर्च पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।






Comment