सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन भोलि मंगलवारदेखि रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सुरु हुँदैछ।

चार दिन सम्म चल्ने ७२ होलको यो प्रतियोगितामा‌ उपाधिका लागि ३४ जना व्यावसायिक खेलाडी तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले दाबेदारी प्रस्तुत गर्नेछन्। ३६ होलको खेलपछि कट हुनेछ। शीर्ष १८ व्यावसायिक र एमेच्योर खेलाडीहरूले अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गर्नेछन्।‌ यो प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन कोर्सलाई चुनौतीपूर्ण बनाइएको छ। खेलाडीहरूले अभ्यास राउन्डबाट कोर्सको अवस्था बुझिसकेका छन्।

व्यवसायिक खेलाडीहरूले कुल ८ लाख ७५ हजार रुपैयाँको लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले उपाधि सँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले १ लाख ५ हजार र तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। यस्तै चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार प्राप्त गर्नेछन। शीर्ष १८ स्थान सम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।

नेपालका नम्बर एक गल्फर निरज तामाङ, पछिल्लो प्रतियोगिताका विजेता भुवन नगरकोटी, अनुभवी व्यावसायिक खेलाडीहरू जयराम श्रेष्ठ, रवि खड्का र दिनेश प्रजापति प्रतियोगिताका प्रमुख दाबेदारको रूपमा रहेका छन्। उनीहरूलाई सिजनको पहिलो प्रतियोगिताका जितेका एमेच्योर गल्फर राहुल विश्वकर्माले कडा चुनौती दिन सक्छन्।

नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, “यस प्रतियोगितामा उत्कृष्ट स्कोर देख्न पाउने अपेक्षा गरेको छु। पछिल्ला केही प्रतियोगितामा खेलको स्तर उल्लेखनीय रूपमा सुधार भएको छ। निरन्तर सहयोगका लागि हाम्रो प्रायोजक सूर्य नेपाल प्रा. लिए. प्रति आभार व्यक्त गर्दै सबै सहभागी खेलाडीलाई सफलताको शुभकामना दिन चाहन्छु।”

सूर्य नेपाल गल्फ टुर २०२५-२६ सिजनमा मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। यसअघि सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विश्वकर्माले, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरज तामाङले र सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि भुवन नगरकोटीले जितिसकेका छन्।

प्रकाशित : 9 February, 2026 6:21 pm