काठमाडौं । नेपाल टेलिकमले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित वार्षिक समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था, कार्यालय तथा सेवाग्राहीलाई सम्मान गरेको छ ।
समारोहमा प्रादेशिक निर्देशनालय, ठूला कारोबार गर्ने संस्था, रिचार्ज तथा लिज लाइन सेवाका प्रमुख प्रयोगकर्ता र उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई चार मुख्य विधाअन्तर्गत सम्मान प्रदान गरिएको हो ।
बढी रकमको रिचार्ज कारोबार गर्ने डिलरअन्तर्गत विराटनगरबाट युवा ट्रेड इन्टरनेसनल, वीरगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर, काठमाडौं र पोखराबाट क्यास पे ट्राली, भैरहवाबाट आरसी मार्केटिङ (रूपन्देही), सुर्खेत र नेपालगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर तथा अत्तरिया (धनगढी) बाट केदार मोबाइल हाउस सम्मानित भएका छन् ।
लिज लाइन सेवा प्रयोगकर्तातर्फ सरकारी संस्थामध्ये सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं र निजी संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, दरबारमार्गलाई सम्मान प्रदान गरिएको छ ।
एफटीटीएच मर्मत सेवाअन्तर्गत पहिलो दिनमै उजुरी समाधान गर्ने उत्कृष्ट कार्यालयतर्फ विराटनगर कार्यालय ९८.०८५ प्रतिशत सफलता दरसहित पहिलो बनेको छ । त्यसपछि नक्साल (काठमाडौं) ९७.४६ प्रतिशत, घनाकोट (पोखरा) ९४.४२ प्रतिशत, मंगलापुर (भैरहवा) ९२.५४ प्रतिशत, महेन्द्रनगर ८६.३३ प्रतिशत, दैलेख ७९.६६ प्रतिशत र सिमरा ७३.८३ प्रतिशतसहित क्रमशः उत्कृष्ट सूचिमा परेका छन् ।
नेपाल टेलिकमले उत्कृष्ट कर्मचारी, साझेदार संस्था तथा सेवाग्राहीलाई प्रोत्साहन गर्दै सेवा गुणस्तर अभिवृद्धि र ग्राहक सन्तुष्टि वृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।





Comment