काठमाडाै । माघको चिसो मौसमबीच, सहकारी क्षेत्रभित्र भने एक किसिमको ऊर्जा महसुस गर्न सकिन्थ्यो। देशभरबाट आएका युवाहरू, प्रविधि विज्ञ र नीति निर्माताहरू एउटै प्रश्नमा केन्द्रित थिए। सहकारीलाई अब कसरी समयसँगै हिँडाउन सकिन्छ?
यही जिज्ञासाको उत्तर खोज्ने थलो बन्यो ‘दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२’। दुई दिनसम्म चलेको सम्मेलन केवल औपचारिक छलफलमा सीमित रहेन; यसले सहकारीको भविष्यबारे नयाँ सोच, नयाँ आत्मविश्वास र स्पष्ट दिशानिर्देश प्रस्तुत गर्यो।
सम्मेलनको मूल सन्देश स्पष्ट थियो-सहकारी अब परम्परागत ढाँचामा सीमित रहन सक्दैन। डिजिटल भुक्तानीदेखि डेटा व्यवस्थापन, फिनटेक र एग्रिटेकसम्म, प्रविधि सहकारीको अनिवार्य सहयात्री बन्नुपर्ने निष्कर्ष निकालियो। सहभागीहरूले सहकारीलाई पारदर्शी, दिगो र सदस्य–मैत्री बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएको धारणा साझा गरे।
राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलको भनाइले सम्मेलनको भाव झल्कायो, “युवा नेतृत्व र प्रविधिको समन्वय अब विकल्प होइन, सहकारीको भविष्यको आधार हो।” यही आधारमा सम्मेलनले ६ बुँदे संकल्प सार्वजनिक गर्यो, जसले नीति निर्माणदेखि सेवा प्रवाहसम्म युवाको अर्थपूर्ण भूमिकालाई केन्द्रमा राखेको छ।
यो विमर्शमा अर्को महत्वपूर्ण पक्ष थियो-युवामैत्री वातावरणको आवश्यकता। सरल र प्रविधिमैत्री नियमन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कानुनी संरचना र सरकार–सहकारी–निजी क्षेत्रबीचको सहकार्यलाई सहकारी रूपान्तरणको मेरुदण्डका रूपमा हेरिएको छ।
सम्मेलनले केवल विचार मात्र दिएन, व्यवहारिक बाटो पनि देखायो। केन्द्रीय र प्रदेश तहमा प्रविधियुक्त तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव, युवालाई उद्यमशीलतामा सक्षम बनाउने मेन्टरशिप र अनुसन्धान केन्द्रको अवधारणा, र सहकारीमार्फत स्टार्टअपलाई वित्तीय तथा प्राविधिक समर्थन गर्ने योजनाले सहकारीलाई आर्थिक रूपान्तरणको साधनका रूपमा प्रस्तुत गर्यो।
विभिन्न प्यानल छलफलहरूले डिजिटल रूपान्तरणदेखि युवामैत्री अर्थतन्त्रसम्मका विषयलाई गहिराइमा उतारे। ती छलफलहरूले एउटा साझा निष्कर्ष निकाले-सहकारीको शक्ति समुदायमा छ, तर त्यसलाई गति दिने इन्जिन भने युवा र प्रविधि हुन्।
ललितपुरमा सम्पन्न यो सम्मेलनले सहकारी अभियानलाई नयाँ ऐनाजस्तो बनाइदियो-जहाँ भविष्य स्पष्ट देखिन्छ। अब सहकारीको कथा केवल बचत र ऋणको होइन, नवप्रवर्तन, उद्यमशीलता र युवाको सपनासँग जोडिएको छ। यहीँबाट सहकारीको नयाँ अध्याय सुरु भएको अनुभूति सहभागीहरूले लिए।








Comment