नेतृत्व यथास्थितिवादमै रमाउन खोज्योः गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थ राजनीति

नेतृत्व यथास्थितिवादमै रमाउन खोज्योः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्न आफूले अघि सारेको अन्तरिम नेतृत्व गठनको प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको बताएका छन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले आगामी नियमित महाधिवेशनसम्मका लागि नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने प्रस्तावमा सहमति जुट्न नसकेको जानकारी दिए। उनले बिहान सभापति देउवासँग भएको भेटवार्ताको विवरण पनि सार्वजनिक गरे।

पार्टीबाट निष्कासनमा परेका थापाले विशेष महाधिवेशनको हलबाट अन्तरिम नेतृत्व चयन गर्ने प्रस्ताव राखिएको तर नेतृत्व पक्षले त्यसलाई स्वीकार नगरेको बताए। ‘हामीले विशेष महाधिवेशनबाटै अन्तरिम नेतृत्व छानौँ भनेका थियौँ, तर उहाँहरू मान्नुभएन,’ उनले भने।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै पार्टीको छवि सुधार्न यस्तो प्रस्ताव गरिएको थापाको भनाइ थियो। सभापति देउवासँगको संवाद उल्लेख गर्दै उनले भने, ‘कम्तीमा चुनावमा जाँदा कांग्रेसले विगतका गल्ती बिर्सेर नयाँ रूपमा आएको सन्देश दिन सकियोस् भन्ने हाम्रो चाहना थियो। तर कांग्रेसको अनुहार फेर्ने यो अवसरलाई नेतृत्वले इन्कार गर्‍यो।’

थापाका अनुसार उनले सामूहिक नेतृत्वको मोडेलमा जानसमेत सुझाव दिएका थिए। भदौ २३ गतेअघिको जस्तै रक्षात्मक अवस्थामा कांग्रेस चुनावमा जान नहुने धारणा राख्दा पनि नेतृत्व सहमत नभएको उनले बताए। ‘कांग्रेसले चुनावमा जाँदा कम्तीमा आफ्नो अनुहार त फेरोस् भन्ने हाम्रो चाहना थियो, तर नेतृत्व यथास्थितिवादमै रमाउन खोज्यो,’ थापाले टिप्पणी गरे।

गगन थापाको सम्बोधन: सारसंक्षेप

हामी विगत केही दिनदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि यहाँ भेला भएका छौं। यो आयोजना कुनै सामान्य परिस्थितिमा भइरहेको छैन। सिंगो पार्टीलाई एकीकृत गर्ने उद्देश्यका साथ हामी लागिरहेका छौं र यसमा हाम्रो निरन्तर प्रयास जारी रहनेछ।

मैले पहिलो दिनदेखि नै भन्दै आएको छु- यो महाधिवेशन २४८८ जना प्रतिनिधिहरूले आफ्नो अधिकार प्रयोग गरेर आयोजना गर्नुभएको हो। यसको आयोजक म होइन, म पनि यहाँ एक पाहुनाका रूपमा आएको हुँ। तर, पार्टीको महामन्त्री हुनुको नाते बृहत्तर एकताका लागि पहलकदमी लिनु मेरो स्वाभाविक जिम्मेवारी हो। समझदारीका लागि सबै विषयहरू बन्द सत्रको हलमै ल्याउनुपर्छ र हलले जे निर्णय गर्छ, त्यसैलाई स्वीकार्नुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ।

तर दुःखका साथ भन्नुपर्छ, सिंगो पार्टी भृकुटीमण्डपमा उत्रिँदा र यस्तो भव्य कार्यक्रम भइरहँदा पनि पार्टी नेतृत्वले यसलाई र मेरो कुरालाई गम्भीरताका साथ लिएन।

विशेष महाधिवेशन पक्षधरहरूले गगन थापालाई प्रधानमन्त्री बनाउन ४० प्रतिशत सिटको प्रस्ताव गरेको भन्ने कुरा पूर्णतः ‘वाइयात’ र निराधार हो। त्यस्तो कुनै पनि माग वा सर्त राखिएको थिएन।

आज हामी सभापतिज्यूले बोलाएर उहाँको निवासमा गएका होइनौं, बरु हामी आफैंले समय मागेर भेट्न गएका हौं। हामीले स्पष्ट रूपमा भन्यौं- देश र पार्टी अहिले सामान्य अवस्थामा छैन, त्यसैले असामान्य अवस्थामै रहेर केही कठोर र ऐतिहासिक निर्णयहरू लिनुपर्छ।

यदि भदौ २३ र २४ गते युवा पुस्ताले आफ्नो आक्रोश र असन्तुष्टि नपोखेको भए, सायद आज हामी संसद्को पहिलो पार्टी हुन्थ्यौं र अर्को वर्ष नियमित महाधिवेशन गरिरहेका हुन्थ्यौं। नेतृत्वप्रति मेरो श्रद्धामा अलिकति पनि कमी छैन, तर मैले के भन्छु भन्नेभन्दा पनि देश र जनताले कांग्रेसका बारेमा के सोच्छन् भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।

गत २८ गते तपाईं (सभापति) ले ‘म पद छाड्छु’ भन्दै बाहिरिन खोज्दा हामीले नै ‘हाम्रो सभापति तपाईं जस्तै हुनुपर्छ’ भनेका थियौं। तर केही दिनभित्रै तपाईंलाई केही मान्छेहरूले गलत ढंगले डोर्‍याए। भदौ २३ र २४ का घटनापछि तपाईं बाहिरिनुभयो र फेरि फर्किनुभयो। यसबीचमा हामीले पटक-पटक भन्यौं- हामीलाई व्यक्तिगत रूपमा केही चाहिएको छैन। विश्वप्रकाश शर्मालाई पनि अहिले नै केही बन्नु छैन। आज पनि उहाँको घरमा पुगेर हामीले स्पष्ट भन्यौं- महाधिवेशनको हलबाट जसलाई नेतृत्व चुने पनि हुन्छ, तर फागुन २१ गते जनताको बीचमा जाँदा ‘हामी धेरै पुराना कुरा विसर्जन गरेर र नयाँ संकल्प लिएर आएका छौं’ भन्न पाइयोस्। हामीलाई त्योभन्दा बढी अरू केही चाहिएको छैन।

सभापतिज्यूले वैशाखमा विशेष महाधिवेशन हुने र त्यतिबेला मलाई सभापति बन्न भन्नुभयो। तर मलाई अहिले सभापति बन्नु छैन। म र विश्वप्रकाश महामन्त्री छौं। साथीहरूले हामीलाई सुरक्षित क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन्, तर हामीलाई आफ्नो व्यक्तिगत भविष्य वा चुनावको चिन्ता छैन। हामी पार्टीका लागि जोखिम उठाउन तयार छौं। धेरैले ‘यो चुनावमा कांग्रेस जसरी गए पनि जान्छ, हारको सबै दोष सभापतिलाई लगाएर आफ्नो चुनावमा केन्द्रित होउ’ भनेका थिए, तर यो मेरो व्यक्तिगत विषय होइन, सिंगो कांग्रेसको भविष्यको विषय हो।

तपाईंहरूले चाँडो निर्णय गर्न दबाब दिइरहनुभएको थियो। यदि हामीलाई पदको लोभ हुन्थ्यो भने बहुमत भएको ठाउँबाट प्रक्रिया पूरा गरेर निर्णय गरिहाल्थ्यौं। भोलि संक्रान्ति छ, त्यसैले छिटो गरौं भन्ने तपाईंहरूको माग जायज छ, तर वार्ताहरू भइरहेकाले हामीले धैर्यतापूर्वक कुरेका हौं।

हामीले यो चुनावमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्छ भनेका होइनौं। हाम्रो माग यति मात्र हो- आगामी चुनावमा शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार होइन भनेर स्पष्ट रूपमा जनतामा जाऔं। यो देउवाजीलाई अपमान गर्न खोजिएको होइन, बरु समय र परिस्थितिको आवश्यकता हो।

विशेष महाधिवेशनपछि ‘कांग्रेस बदलिएर आएको छ’ भनेर गौरवका साथ भन्न पाउने वातावरण बनोस्। त्यसका लागि सबै विकल्पहरूमा छलफल गर्न हामी खुला छौं। हामीले बाहिर निस्कँदा गौरवका साथ एउटा ठोस सन्देश दिन पाउनुपर्छ।

प्रकाशित : 14 January, 2026 5:20 pm