निर्वाचन प्रहरी बन्ने मौका, १.३३ लाख भर्ना खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

मुख्य समाचार

निर्वाचन प्रहरी बन्ने मौका, १.३३ लाख भर्ना खुल्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (म्यादी) का लागि भर्ना खुलाएको छ। नेपाल प्रहरीको मानवस्रोत विकास भर्ना छनौट शाखाले एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरीका लागि भर्ना आवेदन खुलाएको हो ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ। निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान गरिएको छ।

प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्र प्रहरीमा आवेदन दिएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ।

यसअघि भएका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्ति तथा विदेशी फौजमा सेवा अनुभव भएका आवेदकलाई समेत प्राथमिकता दिइने जनाइएको छ। यस्तै विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नागरिकलाई समेत प्राथमिकतामा राखिनेछ ।

आवेदन दिने व्यक्ति साधारण लेखपढ गर्न जान्ने,नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनैतिक दलको सदस्य नरहेको,शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च, तौल ४२ केजी भएको, महिलाको हकमा गर्भवती नभएको/नरहेको हुनु पर्नेछ ।

छनोट माघ ५ गतेदेखि ९ गतेसम्म हुनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिनेछ । छनौट भएकाको प्रशिक्षण (तालिम) माघ १५ गतेदेखि २४ गतेसम्म हुनेछ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ।

प्रकाशित : २४ पुस २०८२, बिहिबार १०:४८ 8 January, 2026 10:48 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।