चुनावी प्रतिस्पर्धाभन्दा पर : एन्ड्र्युले अघि सारेको इक्यान रूपान्तरणको दृष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

चुनावी प्रतिस्पर्धाभन्दा पर : एन्ड्र्युले अघि सारेको इक्यान रूपान्तरणको दृष्टि



काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) को २०औँ साधारणसभा नजिकिँदै गर्दा संगठनभित्र नयाँ नेतृत्वको चर्चा चुलिएको छ। यही सन्दर्भमा लक्ष्मण पौडेल ‘एन्ड्र्यु’ अध्यक्ष पदका लागि दृढ आत्मविश्वास र स्पष्ट दृष्टिकोणसहित चुनावी मैदानमा उत्रिएका छन्। पौष २८ गते हुने साधारणसभाबाट इक्यानको आगामी कार्यदिशा तय हुँदैछ, र एन्ड्र्यु आफूलाई त्यस परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गरिरहेका छन्।

अनुभवबाट नेतृत्वतर्फको स्वाभाविक यात्रा

अघिल्लो कार्यकालमा लोकप्रिय मतका साथ प्रथम उपाध्यक्ष निर्वाचित भएका एन्ड्र्युका लागि अध्यक्षको दाबी स्वाभाविक निरन्तरता जस्तै हो। सो अवधिमा उनले निर्वाह गरेको सक्रिय र परिणाममुखी भूमिकाले संगठनभित्र सकारात्मक सन्देश दिएको बताइन्छ। सहकर्मी व्यवसायीहरूको भरोसा र समर्थनकै कारण आफूले यो जिम्मेवारी लिन हिम्मत गरेको उनी स्वीकार्छन्। शैक्षिक परामर्श व्यवसायीहरूको साझा छाता संगठनको ऐतिहासिक गरिमालाई थप बलियो बनाउने लक्ष्यसहित उनी ‘सशक्त इक्यान’ को नारा अघि सारेका छन्।

एजेन्डामुखी अभियान, कर्पोरेट सोचको प्रस्ताव

‘एजेन्डासहित एन्ड्र्यु’ भन्ने चुनावी अभियान केवल नारा मात्र नभई, उनको कार्ययोजनाको संकेत हो। उनका अनुसार, समयक्रममा देखिएका विकृति, अस्वस्थ राजनीति र संरचनागत कमजोरीका कारण इक्यान अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। त्यसलाई सुधार गर्दै संस्थालाई कर्पोरेट संस्कृतिमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता हो। सदस्य संस्थाहरूलाई व्यवसायिक, अनुशासित र समयानुकूल बनाउँदै यो पेशालाई मर्यादित बनाउने योजना उनको प्राथमिकतामा छ।

व्यवसायिक अनुभवलाई संगठनको हितमा खर्चिने अठोट

शैक्षिक परामर्श क्षेत्रमा अग्रणी मानिने ग्रेस इन्टरनेसनलका सह–संस्थापक तथा निर्देशक एन्ड्र्यु दुई दशकभन्दा बढीको व्यवसायिक अनुभव बोकेर आएका छन्। ग्रेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरिसकेपछि, इक्यानका लागि मूल नेतृत्वमा बसेर योगदान दिनुपर्ने सहकर्मीहरूको आग्रहले आफू निर्वाचनमा होमिएको उनी बताउँछन्। दीर्घकालीन राजनीतिक खिचातानीभन्दा संस्थागत सुधार र परिणाममुखी काममा आफू केन्द्रित हुने उनको स्पष्ट धारणा छ।

सबैलाई समेट्ने ‘सबैको इक्यान’ को अवधारणा

एन्ड्र्युको दृष्टिमा, इक्यान कुनै सीमित समूहको संस्था होइन। त्यसैले नयाँ प्रवेशकर्ता, हाल सक्रिय सदस्य मात्र होइन, विभिन्न कारणले संगठनबाट टाढिएका पुराना सदस्यलाई समेत पुनः जोड्ने सोच उनले अघि सारेका छन्। पूर्वअध्यक्ष, निष्क्रिय सदस्य तथा विगतमा छुटिएका व्यक्तित्वहरूलाई समेट्दै, आफ्नै भवनसहितको मजबुत र दिगो संस्थागत संरचना निर्माण गर्ने योजना उनको छ।

एकतामार्फत सशक्त संगठन निर्माणको प्रतिबद्धता

निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै उम्मेदवार र समूहलाई पनि संगठनभित्र अपनत्वको अनुभूति गराउने उनको प्रतिबद्धता छ। “जुनसुकै समूहबाट आएका भए पनि, इक्यानका लागि गरिएको योगदानको सम्मान गर्दै सबैलाई समेटेर अघि बढ्नु नै मेरो उद्देश्य हो,” एन्ड्र्यु भन्छन्। निर्वाचन परिणाम जेसुकै आए पनि, सक्षम नेतृत्वसँग सहकार्य गर्दै इक्यानको गौरवमय इतिहासलाई नयाँ उचाइमा पुर्‍याउन आफू तयार रहेको उनको भनाइले संगठनप्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ।

प्रकाशित : 6 January, 2026 5:18 pm