विजय लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

विजय लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडाैँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस २१ गते) देखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

एफपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर बी एट द रेट’ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम संकेत गर्छ।

कम्पनीको पृष्ठभूमि

विजय लघुवित्त वित्तीय संस्था २०६९ साउन २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो। नेपाल राष्ट्र बैंकबाट २०६९ पुस १९ गते कारोबार अनुमति पाएको कम्पनीले २०६९ माघ १८ गतेदेखि राष्ट्रिय स्तरमा सेवा दिन थालेको थियो।

साविक नयाँ सारथी लघुवित्त र विजय लघुवित्त २०८० असार ३१ गतेदेखि एकीकृत कारोबारमा गएका हुन्। हाल कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको छ। देशभर १३५ शाखामार्फत कम्पनीले सेवा प्रदान गरिरहेको छ। गुडविल फाइनान्स र कुमारी बैंक लिमिटेड कम्पनीका प्रमुख आधारभूत शेयरधनी हुन्।

पूँजी र वित्तीय अवस्था

कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने हालको जारी पूँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ छ। एफपीओ निष्कासनपछि चुक्तापूँजी पनि सोही स्तरमा पुग्नेछ।

मर्जरपछि कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७९/८० मा ५ करोड ४२ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा थियो। ०८०/८१ मा भने सञ्चित नाफा घटेर २ करोड ७४ लाख रुपैयाँमा सीमित भएको देखिन्छ। सो अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४० पैसा थियो।

गत आर्थिक वर्ष ०८१/८२ को अपरिस्कृत विवरण अनुसार कम्पनीको सञ्चित नाफा ३ करोड ६० लाख रुपैयाँभन्दा बढी पुगेको छ। यस अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६२ पैसा र नेटवर्थ १६१ रुपैयाँ ७० पैसा कायम छ। चालू आर्थिक वर्षमा कम्पनीले ६ करोड ४६ लाख रुपैयाँभन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ।

लाभांश र व्यवस्थापन

कम्पनीले आर्थिक वर्ष ०७८/७९ यता लाभांश वितरण गरेको छैन। मर्जरपछि पनि लाभांश घोषणा भएको छैन भने गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न बाँकी छ। यसअघि कम्पनीले अधिकतम २१.०५ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास छ।

हाल कम्पनीमा सात सदस्यीय सञ्चालक समिति रहेको छ। लोकबहादुर खड्का अध्यक्ष रहेको समितिमा विभिन्न क्षेत्रमा लामो अनुभव भएका सञ्चालकहरू छन्। अध्यक्ष खड्कासँग कम्पनीको ०.४४ प्रतिशत शेयर स्वामित्व छ।

एफपीओपछि कारोबार मूल्य

एफपीओ सूचीकृत भएपछि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउने दिनको अन्तिम मूल्यकै आधारमा पहिलो कारोबार मूल्य तय हुने नेप्सेले स्पष्ट पारेको छ। सोही मूल्य एफपीओ शेयरका लागि पनि मान्य हुने व्यवस्था छ।

प्रकाशित : 5 January, 2026 11:43 am