काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा कार्यरत कर्मचारीहरूले सुर्खेत सदस्य सेवा कार्यालयमा शुक्रबार भएको घटनालाई लिएर काम ठप्प पारेका छन्। सुर्खेत घटनाले संघमा कार्यरत सम्पूर्ण कर्मचारी असुरक्षित भएको जनाउँदै उनीहरूले घटनाका दोषी नेफ्स्कूनका सञ्चालक वीरबहादुर रावत भोटेलाई तत्काल निलम्बन गरी बर्खास्त गर्न माग गरेका छन्।
कर्मचारीहरूको भनाइ अनुसार संघका सञ्चालक समिति सदस्य रावत (भोटे) ले नेफ्स्कून सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीहरू मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनामाथि कार्यस्थलमै सांघातिक हमला गरेका कारण सम्पूर्ण कर्मचारीहरूमा गम्भीर असुरक्षाको भावना पैदा भएको छ। घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि काम ठप्प पार्दै दोषी सञ्चालकलाई तत्काल निलम्बन गर्नुपर्ने उनीहरूको माग छ।
त्यसैगरी उक्त हमलाका कारण कर्मचारीद्वय सहित सम्पूर्ण कर्मचारीहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न उपयुक्त व्यवस्था गर्न, संघमा कार्यरत सबै कर्मचारीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सिर्जना गर्न तथा विधिको पूर्ण पालना सुनिश्चित गर्न समिति र उपसमितिको सम्पूर्ण प्रकारका कार्यकारी भूमिकालाई पूर्ण रूपमा हटाउन माग गरिएको छ। संघको विनियम र कार्यविधिमा उल्लेखित जिम्मेवारीबाहेक अन्य कुनै पनि प्रशासनिक कार्यमा हस्तक्षेप नगर्न पनि उनीहरूको जोडदार माग रहेको छ।
कर्मचारीहरूले संघका सम्पूर्ण कार्यालयहरूमा रहेका सबै उपसमितिका कार्यकक्षहरू तत्काल हटाउनुपर्ने, नेतृत्वबाट भएका अमर्यादित गतिविधिले संघको छविमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै संघको छविमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। साथै समिति तथा उपसमितिमा रहेका कुनै व्यक्ति वा ती व्यक्ति संलग्न सहकारी संस्था कारबाहीमा परेको, कालोसूचीमा परेको वा कानुनी कारबाहीमा परेको प्रमाण उपलब्ध भएमा कानुन बमोजिम तत्काल निलम्बन गरी बर्खास्त गर्नुपर्ने माग गरिएको छ।
सुर्खेत घटनाका कारण कर्मचारीहरूको मनोबलमा गम्भीर नकारात्मक प्रभाव परेको भन्दै घटनाको छिनोफानो नभएसम्म नेफ्स्कूनका सबै कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गरिने पनि कर्मचारीहरूले जनाएका छन्।






Comment