काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सुर्खेत फिल्ड कार्यालयमा भएको घटनाका विषयमा आजै सञ्चालक समितिको आकस्मिक बैठक बसेर सहकारी ऐन र विनियमभित्र रही उपयुक्त निर्णय लिने बताएका छन्।
अध्यक्ष ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रतिवद्धता जनाउँदै घटनाप्रति आफू गम्भीर रहेको उल्लेख गरेका छन्। उनले समस्याको सत्यतथ्य बुझ्न सबै सम्भावनाहरू अपनाइएको र यसलाई तार्किक निष्कर्षमा पुर्याउन पटक–पटक पदाधिकारी, सहकारी अभियानका साथीहरू तथा म्यानेजरहरूसँग छलफल र संवाद गरिएको बताए।
घटना हुनुअघि आफू उपत्यका बाहिर रहेको र बीचमा विदाको दिन परे पनि निरन्तर समन्वय गरिरहेको अध्यक्ष ढकालको भनाइ छ। व्यवस्थापन, सञ्चालक समिति, सहकारी अभियान, सञ्चार क्षेत्र र सामाजिक सञ्जाललगायत सबै क्षेत्रबाट आएका सुझावलाई उच्च सम्मान गर्दै अघि बढ्ने उनले बताएका छन्।
अध्यक्ष ढकालले उक्त घटनाको प्रकृति आफैँमा दुःखद रहेको र पदीय दायित्व निर्वाहमा जवाफदेही हुन नसकिएको स्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘यो समय कार्यालय बन्द, पुस महिनाको मौसम र कर्णाली प्रदेशको सुर्खेतमा घटना भएकाले व्यवस्थापनमा उल्लेख गरिएजस्तो सहज अवस्था पक्कै थिएन भन्ने सबैले बुझ्नुपर्छ। त्यसका बाबजुद पनि आवेगमा दर्ता गरिएको जाहेरीका आधारमा नियन्त्रणमा लिइएका व्यवस्थापनका साथीहरूलाई शुक्रबार रातिनै बासस्थानमा पुर्याउन र हिजो सबै पक्षको सहभागितामा जाहेरी फिर्ता लिने परिस्थितिलाई क्रमशः सामान्य बनाउँदै लैजान समन्वय गर्ने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।’
यसैबीच, नेफ्स्कूनका सञ्चालक वीरबहादुर रावत भोटेबाट कर्मचारीमाथि भएको दादागिरीप्रति सहकारीका कर्मचारी संगठनहरू तथा समग्र सहकारीकर्मीहरूले विरोध जनाएका छन्।






Comment