बीवाईडीले टेस्लालाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी साधन उत्पादकको स्थान हासिल गरेको छ। सन् २०२५ मा बीवाईडीले कुल २२ लाख ५४ हजार ७१४ वटा अल–इलेक्ट्रिक सवारी साधन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २७.९ प्रतिशतले बढी हो।
सोही वर्ष टेस्लाले १६ लाख ३६ हजार १२९ वटा इलेक्ट्रिक कार बिक्री गर्न सफल भयो। तर यो बिक्री सन् २०२४ को तुलनामा करिब ९ प्रतिशतले घटेको देखिन्छ। बिक्री घटेसँगै टेस्लाले विश्वको नम्बर एक स्थान गुमाएको विश्लेषकहरू बताउँछन्।
बीवाईडीले सन् २०२५ मा हाइब्रिड र अल–इलेक्ट्रिक गरी कुल ४५ लाख ५० हजार ३६ वटा सवारी साधन बिक्री गरेको जनाएको छ। समग्रमा कम्पनीले ४६ लाख २ हजार ४३६ वटा सवारी साधन बिक्री गरेको हो। कुल बिक्रीमा अल–इलेक्ट्रिक र हाइब्रिड सवारी साधनको हिस्सा लगभग बराबर देखिन्छ, जसले बीवाईडीले दुवै प्रविधिलाई सन्तुलित रूपमा अघि बढाइरहेको संकेत गर्छ।
मोडलको विविधताका हिसाबले पनि बीवाईडी टेस्लाभन्दा अगाडि देखिएको छ। टेस्लाको करिब ९५ प्रतिशत बिक्री मोडल ३ र मोडल वाईमै सीमित रहँदा बीवाईडीले भने किफायती सवारीदेखि प्रिमियम र लक्जरी सेडानसम्म फराकिलो मोडल पोर्टफोलियो प्रस्तुत गरेको छ। यसले विभिन्न आयस्तरका ग्राहकलाई आकर्षित गर्न कम्पनीलाई सहज बनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि बीवाईडीको उपस्थिति तीव्र रूपमा विस्तार हुँदै गएको छ। सन् २०२५ मा कम्पनीको निर्यात पहिलो पटक १० लाख युनिट नाघ्यो, जुन अघिल्लो वर्षको तुलनामा करिब १५० प्रतिशतले बढी हो। यसले बीवाईडी अब चिनियाँ बजारमै सीमित नभई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित हुँदै गएको देखाउँछ।
विज्ञहरूका अनुसार टेस्लासँग हाल किफायती तथा नयाँ मोडलहरूको अभाव देखिन्छ। एक समय वार्षिक ५० प्रतिशतको दरले वृद्धि गर्दै आएको टेस्लाको बजार विस्तार हाल सुस्त बनेको छ। सस्तो नयाँ पुस्ताको प्लेटफर्म ल्याउने विषयमा लामो समयदेखि चर्चा भए पनि सन् २०२५ सम्म त्यसलाई कार्यान्वयन गर्न नसक्नु र सीमित मोडलमा अत्यधिक निर्भर रहनुले टेस्लाले अग्रस्थान गुमाएको विश्लेषकहरूको निष्कर्ष छ।






Comment